जर्मन क्लब आरबी लाइप्जिगका विंगर यान डिओमान्डे स्पेनिस महारथी क्लब रियल म्याड्रिड जाने पक्का भएको छ। पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले उनलाई अनुबन्ध गर्ने दौडबाट हात झिकेपछि १९ वर्षीय यी खेलाडी रियल म्याड्रिडसँग व्यक्तिगत सर्तहरूमा सहमत भएका हुन्।
आइभोरी कोस्टका अन्तर्राष्ट्रिय खेलाडी डिओमान्डेलाई यसअघि लिभरपुल र पीएसजी दुवैले किन्न चाहेका थिए। जुन महिनामा लिभरपुलले राखेको ६ करोड ९० लाख पाउण्डको प्रस्ताव लाइप्जिगले अस्वीकार गरिदिएको थियो। त्यसपछि लिभरपुल अन्य खेलाडीतिर लाग्यो भने पीएसजीले पनि रियल म्याड्रिडसँग महँगो प्रतिस्पर्धा नगर्ने निर्णय गर्यो।
गत आइतबार पीएसजीले डिओमान्डेका लागि १० करोड २५ लाख पाउण्डको अन्तिम प्रस्ताव गरेको थियो, जसलाई लाइप्जिगले अस्वीकार गरिदिएको थियो।
रियल म्याड्रिडसँगको उनको सम्झौता इङ्ल्यान्डका स्टार मिडफिल्डर जुड बेलिङ्घमको जस्तै ढाँचामा तयार गरिएको छ। यसमा खेलाडीको मैदान भित्रको प्रदर्शनका आधारमा पारिश्रमिक र सुविधाहरू वर्षैपिच्छे बढ्दै जाने उल्लेख छ।
रियलले उनलाई १० करोड पाउण्डभन्दा बढी रकम तिर्नेछ। डिओमान्डे गत वर्ष मात्रै स्पेनिस क्लब लेगानेसबाट पाँच वर्षको सम्झौतामा लाइप्जिग पुगेका थिए।
रियल म्याड्रिडले विश्वकपको प्रदर्शनलाई मात्र आधार नमानी लामो समयको मूल्याङ्कनपछि उनलाई रोजेका हुन्।
लाइप्जिगले उनलाई क्लबमै राख्न निकै प्रयास गरेको थियो। तर युरोपका ठूला क्लबहरूको रुची र कीर्तिमानी बिक्री मूल्यका कारण उनलाई रोक्न कठिन भएको क्लबले जनाएको छ।
डिओमान्डे सन् २०२५-२६ को बुन्डेसलिगा सिजनको 'उत्कृष्ट युवा खेलाडी' हुन्। उनले गत सिजन १२ गोल गरेका थिए भने ८ गोलका लागि पास (असिस्ट) मिलाएका थिए।
आइभोरी कोस्टमा जन्मेका उनी सन् २०२५ मा अमेरिकाको एक एकेडेमीमा भर्ना भएका थिए, जहाँबाट उनी स्पेनको लेगानेस क्लबमा पुगेका थिए।