सन् २०२६ को सेप्टेम्बरमा जापानको आइची र नागोयामा हुने २०औं गृष्मकालिन एसियाली खेलकुदमा नेपालबाट ४३४ खेलाडीले प्रतिस्पर्धा गर्न सक्ने भएका छन्।
सरकार र नेपाल ओलम्पिक कमिटीको विवादका कारण खेलाडी दर्ता प्रक्रिया यसअघिदेखि विवादित थियो। तर पनि अन्तर्राष्ट्रिय मान्यता रहेको जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले एसियाली खेलकुदका लागि दर्ता प्रक्रिया भने अघि बढाएको हो।
यसअघि ३० वटा खेलमा नेपालले सहभागिता जनाउने भनेर कमिटीले दर्ता गरेको थियो। त्यसपछि मंगलबारसम्ममा खेलडीको संख्या दर्ता गर्नु पर्ने समयसीमा अनुसार ओलम्पिक कमिटीले खेल संख्या थपेर ३२ खेलका २३९ पुरुष र १९५ महिला गरी कुल ४३४ जना खेलाडीको नाम दर्ता गराएको हो।
खेलाडी दर्ताका लागि ओलम्पिक कमिटीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पटक पटक पत्राचार गरेको थियो। तर दुवै निकायबाट कुनै प्रतिक्रिया प्राप्त नभएको ओलम्पिक कमिटीको भनाइ छ।
कमिटीलाई पछिल्लो पटक तेक्वान्दो र फुटबलले सहभागिताका लागि खेलाडी र इभेन्ट संख्या पठाएका थिए। तर नेपाल एथलेटिक्स संघलाई पटकपटक पत्राचार र ताकेता गर्दा पनि कुनै जवाफ प्राप्त नभएको ओलम्पिक कमिटीको भनाइ छ।
‘विगतको सहभागितालाई मध्यनजर गरी म्याराथनमा एक महिला र एक पुरुष खेलाडी संख्या दर्ता गरिएको छ। ३२ वटा खेलबाट २३९ पुरुष र १९५ महिला गरी जम्मा ४३४ जना कुल खेलाडी संख्या दर्ता प्रकृया सम्पन्न भएको छ,’ नेपाल ओलम्पिका कमिटीका महासचिव राजीव श्रेष्ठको भनाइ छ।
यसअघि गत मंसिरमा जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि आफू अध्यक्ष बन्नका लागि विशेष अधिवेशन र निर्वाचन गरेपछि सरकार र ओलम्पिक कमिटीबीच विवाद भएको थियो।
सरकारले श्रेष्ठको कार्य कानुनविपरित भएको भन्दै मान्यता दिएको थिएन भने अर्को तदर्थ समिति बनाउन सहयोग गरेको थियो। तत्कालिन मन्त्री तेजुलाल चौधरीले सक्रियतामा ओलम्पिक कमिटीको तदर्थ समिति बने पनि जेनजी आन्दोलनका कारण मन्त्रीको पद गएको छ। जसका करण तदर्थ समिति समेत शक्तिविहीन बनेको छ।
आन्दोलनका क्रममा मन्त्रीले राजीनामा दिएका थिए भने उनी अध्यक्ष रहेको नाइटिङगेल स्कुलमा आगजनीको प्रयास भएको थियो। यस्तै ओलम्पिक कमिटीका अध्यक्ष तथा समाजवादी पार्टीका नेता समेत रहेका जीवनराम श्रेष्ठको घरमा पनि तोडफोड भएको थियो।
