युवा तथा खेलकुद मन्त्रालयले सहसचिव राम चरित्र मेहतालाई राष्ट्रिय खेलकुद परिषदको कार्यवहाक सदस्यसचिवको जिम्मेवारी दिएको छ।
मन्त्रालयले मंगलबार मेहतालाई जिम्मेवारी दिएको हो। यसअघिका सदस्यसचिव टंकलाल घिसिङको कार्यकाल गत मंसिर १२ गते सकिएको थियो।
त्यसपछि कामकाजका लागि महेतालाई जिम्मेवारी प्रदान गरिएको हो।
उनलाई दिइएको पत्रमा भनिएको छ, ‘तपाइलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अको व्यवस्था नभएसम्मका लागि राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिवको रुपमा जिम्मेवारी तोकिएकै निकायबाट तलव भुक्तान हुने गरी कामकाज गर्न तोकिएको व्यहोरा यस मन्त्रालयको मिति २०८२/८/१६ को निर्णय (मा. मन्त्रिस्तर) अनुसार अनुरोध छ।’
यसैबीच मन्त्रालयले नयाँ सदस्यसचिव नियुक्तिका लागि सिफारिस समिति यसै साता बनाउँदैछ। समितिले नयाँ सदस्यसचिवका लागि दरखास्त आह्वान गर्नेछ।