नेपाल ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई विभिन्न तीन प्रतियोगिताका लागि छात्रवृत्ति प्रदान गरेको छ।
सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने एलए ओलम्पिकका लागि ८ जनालाई छात्रवृत्ति दिइएको छ।
ओलम्पिक कमिटीका अनुसार यो छात्रवृत्ति पाउने खेलाडीले मासिक ११ सय २५ डलर पाउनेछन्। यो रकम प्रशिक्षणका लागि खर्च गर्नु पर्नेछ। गत सेप्टेम्बरदेखि सुरु भएर सन् २०२८ सम्मको ओलम्पिकसम्म करिब ३६ महिनाका लागि यो छात्रवृत्ति लागू हुनेछ।
यो छात्रवृत्ति पाउने खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सदभव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभान थापा, टेनिसकी शिभाली गुरुङ, स्पोर्ट्स क्लाइम्बिङकी तेन्जिङ बर्तिन राई र पौडीका इर्भिन श्रेष्ठ छन्।
यो अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलको सहकार्यमा प्रदान गरिएको छात्रबृत्ति हो। छात्रवृत्ति पाएका खेलाडी र सम्बन्धित संघसँग ओलम्पिक कमिटीले सम्झौता गरेको छ।
ओलम्पिक कमिटीले ५ जना खेलाडीलाई सन् २०२६ को एसियाली खेलकुदसम्मका लागि छात्रवृत्ति दिएको छ। यो ओलम्पिक कमिटीले आफैले दिएको रकम हो।आगामी जनावरीदेखि सुरु हुने छात्रवृत्ति मासिक ५० हजार रूपैयाँ रहेको छ। पाँच खेलाडीमा कराते खेलाडीद्वय एरिका गुरुङ र सानुमाया थिङ, आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा र उसुकी सुस्मिता तामाङ रहेका छन्।
एक जना खेलाडीलाई सन् २०२६ को डाकार युथ ओलम्पिक गेम्सका लागि मासिक ५० हजारको छात्रवृत्रि छ। अर्को वर्षमा नोभेम्बरमा हुने युथ ओलम्पिकमा लागि उसुकी रश्मी तामाङलाई छात्रवृत्ति दिइएको छ।