राष्ट्रिय खेलकुद परिषद (राखेप) को १२४औं बोर्ड बैठक बुधबार बसेको छ।
राखेपका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ। यससँगै दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि बाटो खुल्नेछ।
यस्तै बैठकले दशौं राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने पनि निर्णय गरेको छ।
खेलकुद परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय पारित भएको छ।
अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा ‘जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने तथा त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने पनि बैठकको निर्णय छ।
यस्तै सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने पनि बैठकको निर्णय छ।
बैठकमा परिषद्का मन्त्री गुप्तासहित उपाध्यक्ष ध्रुव आर्चाय, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, सदस्य सचिव राम चरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो।