युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्।
गुप्ताले रिक्त भएको सदस्यमा क्रिकेट प्रशिक्षक जगत टमाटा, रग्बी संघका संघका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो संघको तर्फबाट कुमार लामा घिसिङ र उद्योग बाणिज्य महासंघको सिफारिसमा प्रयास कार्की रहेको मन्त्रीका स्वकीय सचिव विनोद रिमालले जनाकारी दिए।
टमाटा खेल विज्ञ क्लस्टरमा नियुक्त भएका हुन्। राष्ट्रिय खेल संघको सिफारिसमा घिसिङ र मेहताले जिम्मेवारी पाए।
यस्तै पराम्परागत, शाहासिक र पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी रोजेश खड्कलाई ल्याइएको हो। प्रयास कार्कीलाई उद्योग वाणिज्य महासंघले सिफारिस गरेको थियो।
यसअघि मन्त्रीले जेनजी प्रतिनिधिलाई पनि नियुक्त गर्ने बताए पनि यसपटक कुनै पनि सदस्य जेनजीबाट नियुक्त भएका छैनन्।
अब बोर्ड सदस्य रिक्त रहेको मध्ये एक जना महिला राष्ट्रिय खेल संघको सिफारिसमा नियुक्त हुन बाँकी छ।
नियुक्त भएका पाँचै जनलाई खेलकुद मन्त्री गुप्ताले आजै सपथ खुवाएका छन्। यसअघि ६ जना बोर्ड सदस्यको पदावधि समाप्तपछि उक्त पद रिक्त थियो।