सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरू हुँदैछ।
आठ टोलीले भाग लिने यो प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने नेपाली टेलिभिजनको टुंगो भने प्रतियोगिता सुरु हुनु दुई दिनअघि अर्थात् कात्तिक २९ गते मात्र लाग्ने भएको छ।
यसअघि एक्लुसिभ प्रशारण अधिकार दिने गरी क्यानले टेन्डर आह्वान गरेको थियो। तर उक्त टेन्डर विपरित नन-एक्लुसिभ अधिकार मात्र दिने भनिए पछि कतिपय नेपाली टेलिभिजनले विरोध गरेका थिए।
यसअघि १५ दिनको समय दिएर आह्वान गरिएको प्रशारण अधिकारको टुंगो कात्तिक २६ गते बुधबार लाग्ने बताइएको थियो। तर बुधबार नेपालमा प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजनको प्रशारणको विषयमा विवाद उत्पन्न भएपछि क्यानले दुई दिनको सूचना निकालेर बिहीबार अर्को टेन्डर आह्वान गरेको छ। दुवै टेन्डर प्रक्रिया समयका हिसाबले कानुनअनुसार भने छैनन्।
संशोधन गरिएको टेन्डरमा पाँच वर्षमा कम्तिमा एक अन्तर्राष्ट्रिय खेल प्रशारण गरेको हुनुपर्ने प्रावधान हटाएर अन्तर्राष्ट्रिय वा घरेलु प्रतियोगिता प्रशारण गरिएको हुनु पर्ने राखिएको छ।
यस्तै नेपालभर एक्लुसिभ हटाएर नन-एक्लुसिभ अधिकार मात्र हुने पनि संशोधन गरिएको छ।
नयाँ सूचनाअनुसार एक करोड रुपैयाँभन्दा माथिको टेन्डर हुनेछ।
नेपाली टेलिभिजनको टुंगो शुनिबार मात्र लाग्ने भए पनि अरू देशका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई अधिकार दिइएको छ। यो भने टेन्डर नभइ क्यानले अघिल्लो संस्करण झैं पैसा तिरेर एनपिएल स्टार स्पोर्ट्सबाट देखाउन लागेको हो।
अन्तर्राष्ट्रिय खेलाडीसँग गरिएको प्रतिबद्धता र फ्रेञ्चाइज टोलीले चाहेको ब्रान्ड भ्यालूका लागि स्टार स्पोर्ट्सबाट पनि खेल देखाउनु पर्ने बाध्यता रहेको क्यानका एक पदाधिकारीले बताए।
यता यसपटक युट्युबबाट भने एनपिएल लाइभ हुनेछैन। त्यसका लागि क्यानले पैसा तिरेर मोबाइल एपबाट हेर्ने व्यवस्था गर्नेछ।
