नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। चितवनको जितसँगै जनकपुर र कर्णाली याक्सको प्लेअफ सम्भावना समाप्त भएको छ। यसअघि पोखरा एभेन्जर्स पनि प्लेअफ दौडबाट बाहिरिसकेको थियो।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
चितवनको जितमा डेविड मलानले अविजित ३५ रन बनाए। उनले ३९ बलमा १ छक्का प्रहार गरे। कमिल मिश्राले ६ बलमा १२, रवि बोपाराले १६ बलमा १३ तथा कुशल मल्लले २५ बलमा १५ रन बनाए। कमल ऐरी १० बलमा ७ रन जोड्दै अविजित रहे।
चितवनको सुरुवात भने राम्रो हुन सकेन। पहिलो ओभरको दोस्रो बलमै अर्जुन साउद खाता नखोली आउट भए। कमिल मिश्राले आक्रामक ब्याटिङ गर्दै ६ बलमा १२ रन बनाए पनि चौथो ओभरमा आउट भए। त्यसपछि रवि बोपारा १३ रनमा र कप्तान सिकन्दर राजा शून्यमा आउट हुँदा चितवन ४.३ ओभरमा २८/४ को अवस्थामा पुगेको थियो।
विवेक यादव पनि ७ रन बनाएर पाँचौं विकेटका रूपमा आउट भएपछि चितवन ५.४ ओभरमा ३७/५ को कठिन अवस्थामा पुगेको थियो। तर डेविड मलान र कुशल मल्लले छैटौं विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले।
कुशल १५ रन बनाएर १३.२ ओभरमा आउट भए। त्यसपछि मलान र कमल ऐरीले अविजित २५ रनको साझेदारी गर्दै चितवनलाई जितसम्म पुर्याए।
जनकपुरका लागि राहुल यादवले ३ विकेट लिए। उनले ३ ओभरमा १९ रन खर्चिए। ललित राजवंशीले २ तथा विशाल सुस्लिङले १ विकेट लिए।
रञ्जितको घातक बलिङ
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै बनाएको थियो।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे। विशाल सुस्लिङले १५, सन्तोष कार्कीले १० र राहुल यादवले अविजित १० रन बनाए।
जनकपुरको सुरुवात निकै खराब रह्यो। पहिलो ६ ओभरको पावरप्लेमा टोलीले ३ विकेट गुमाएर २२ रन मात्रै बनाएको थियो। रञ्जित कुमारले सन्तोष कार्की र ह्यारी टेक्टरलाई छोटो अन्तरमा आउट गरेपछि जनकपुर थप दबाबमा परेको थियो।
९.५ ओभरमा ४० रन बनाउँदा चार विकेट गुमाएको जनकपुरले त्यसपछि पनि लगातार विकेट गुमायो। हरमित र विशालले छैटौं विकेटका लागि २३ रनको साझेदारी गरे पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्याउन सकेनन्।
चितवनका रञ्जित कुमारले ३ ओभरमा १ मेडन राख्दै २ रन खर्चिएर ३ विकेट लिए। सिकन्दर राजा र कमिल मिश्राले २–२ विकेट लिए।
प्लेअफ समीकरण : तीन टोली, दुई स्थान
चितवनको जितसँगै प्लेअफ दौडबाट बाहिरिने टोलीको संख्या तीन पुगेको छ। जनकपुर, कर्णाली र पोखराको यात्रा लिग चरणमै समाप्त भएको छ। यसअघि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन्।
अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ। चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन्।
काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ। काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ। तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ। अझ विराटनगरका लागि जित निकालेर मात्र पुग्दैन बाँकी दुई टोलीको हारको कामना गर्नु पर्नेछ।
अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन्। तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ। आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ।