नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा त्रिवि क्रिकेट मैदानको पिच ब्याटरका लागि चुनौतीपूर्ण बन्दै गएको छ। पछिल्ला खेलहरूमा कम योगफल बन्ने र त्यही स्कोर पनि रक्षा हुने क्रम बढेपछि मैदानको पिचबारे खेलाडीहरूले प्रश्न उठाउन थालेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एनपिएलका खेलमा ब्याटिङ गर्न सहज देखिएको छैन। पिचले स्पिन बलरलाई बढी सहयोग गरिरहेको छ भने ब्याटरलाई खुलेर खेल्न कठिन भइरहेको छ। १३० रन आसपासको योगफल पनि प्रतिस्पर्धात्मक बन्न थालेको छ। कतिपय खेलमा त्योभन्दा कम योगफलसमेत रक्षा भइरहेका छन्।
शुक्रबार दोस्रो खेलमा चितवन राइनोजविरूद्ध जनकपुरले ८८ रन मात्र बनाउन सक्यो। जुन लक्ष्य चितवनले ६ विकेटको क्षतिमा १८औं ओभरमा पूरा गरेको थियो। त्यसअघि सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजविरूद्ध १२५ रनको योगफल रक्षा गरेको थियो।
सुदूरपश्चिम रोयल्सका हेमन्त धामी र चितवन राइनोजका इंग्लिस ब्याटर डेविड मलानले पनि पिचको अवस्थाबारे आफ्नो धारणा राखेका छन्।
सुदूरपश्चिमका धामीका अनुसार टोलीलाई कम योगफल रक्षा गर्दा पनि ठूलो दबाब महसुस हुँदैन। यसको कारण टोलीको बलियो बलिङ युनिट र पिचको अवस्थाअनुसार आफूलाई ढाल्न सक्ने क्षमता हो। उनले पिचको प्रकृति बुझेर खेल्दा कम स्कोर पनि रक्षा गर्न सकिने बताएका छन्।
यता, चितवनका मलानले त्रिवि मैदानको पिच पहिलो इनिङ्स र दोस्रो इनिङ्समा फरक तरिकाले खेलिरहेको बताएका छन्। उनका अनुसार पहिलो इनिङ्समा पिचमा बल निकै टर्न भइरहेको थियो। तर दोस्रो इनिङ्समा बल केही भिजेपछि ब्याटिङ गर्न तुलनात्मक रूपमा सहज भयो। बलले ब्याटमा राम्रोसँग आउन थालेपछि रन बनाउन पनि सजिलो भएको उनको अनुभव छ।
मलानले चुनौतीपूर्ण पिचले खेलाडीको क्षमता परीक्षण गर्ने भए पनि अहिलेको अवस्था भने बलरको पक्षमा अलि बढी ढल्किएको बताए। ब्याट र बलबीच सन्तुलित प्रतिस्पर्धा हुनुपर्ने उनको धारणा छ।
उनले टी–२० क्रिकेटमा १४० देखि १६० रनसम्म बन्न सक्ने खालको सन्तुलित पिचको अपेक्षा पनि व्यक्त गरेका छन्। यस्तो पिचमा ब्याटरले आफ्नो क्षमता देखाउन पाउने र बलरले पनि विकेट लिन सक्ने भएकाले खेल थप प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक हुने उनको भनाइ छ।
विदेशी खेलाडीका रूपमा नेपालमा यसअघि पनि खेलेको अनुभवले स्थानीय परिस्थितिसँग अभ्यस्त हुन सहयोग गरेको मलानले बताए। उनले टोलीमा स्थानीय खेलाडीको गुणस्तर र समग्र टिमको गहिराइप्रति पनि विश्वास व्यक्त गरेका छन्।
एनपिएलमा पछिल्ला खेलहरूको नतिजाले पनि पिचको प्रभाव देखाएको छ। कम योगफल भएका खेलमा बलरहरू हाबी भइरहेका छन्। १३० रनसम्मको स्कोर पनि रक्षा हुन थालेपछि ब्याटिङको कठिनाइ थप चर्चामा आएको छ।
टी–२० क्रिकेटमा ब्याट र बलबीचको सन्तुलन महत्वपूर्ण मानिन्छ। ब्याटरलाई सहजै रन बनाउन दिनेभन्दा पनि उनीहरूको सीप र धैर्यको परीक्षा लिने पिच आवश्यक भए पनि बलरलाई अत्यधिक सहयोग गर्ने अवस्थाले खेलको प्रतिस्पर्धात्मक सन्तुलन बिगार्न सक्ने देखिन्छ। त्यसैले बाँकी खेलमा त्रिवि मैदानको पिचले कस्तो व्यवहार गर्छ भन्ने चासो बढेको छ।