सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आउन लागेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम र दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिस सिजनका सबै खेलमा उपलब्ध नहुने भएका छन्।
अघिल्लो सिजन जनकपुर बोल्ट्समा आबद्ध भएका नीशमलाई यो सिजनका लागि पोखरा एभेन्जर्सले टोलीमा आबद्ध गरेको थियो।
अन्तिम समयमा टोलीमा आबद्ध भएका नीशमले सिजनका सबै खेल नखेल्ने पोखराका एक अफिसियलले सेतोपाटीलाई बताए।
किनभने नीशमले एनपिएल हुने समयमै युएईको आइएलटी२० खेल्ने तय छ। उनी आइएलटी२० टोली दुबई क्यापिटल्समा आबद्ध छन्।
आइएलटी२० को चौथो सिजन २ डिसेम्बरबाट सुरू हुँदैछ।
त्यसअघि पोखरा एभेन्जर्सले १८ नोभेम्बरमा विराटनगर किंग्ससँग, २१ नोभेम्बरमा सुदूरपश्चिमसँग, २७ नोभेम्बरमा जनकपुर बोल्ट्ससँग र २९ नोभेम्बरमा लुम्बिनी लायन्ससँग खेल्दैछ। यी खेल खेलेपछि नशीम दुबई जानेछन्।
‘एकै समयमा लिगहरू जुध्दा यस्तो भएको हो। अहिलेको लागि निशमले चार खेल खेल्ने तय छ,’ पोखराका अफिसियलले सेतोपाटीसँग भने।
यता विराटनगर किंग्समा आबद्ध भएका दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिसले पनि सिजनका सबै खेल खेल्नेछैनन्।
एनपिएलकै समयमा उनले युएईकै अबुधावी टी-१० लिग खेल्ने तय छ। १८ नोभेम्बरमा सुरु हुने लिग ३० नोभेम्बरसम्म हुनेछ।
विराटनगरमा आबद्ध फाप डु प्लेसिसले टी-१० लिग भिस्ता राइडर्सबाट खेल्दैछन्।
राइडर्सले लिगमा २८ नोभेम्बरसम्म उक्त प्रतियोगितामा लिग खेल सक्नेछ। त्यतिबेलासम्म विराटनगरले पाँच वटा खेल खेलिसकेको हुनेछ भने लिगका बाँकी दुई खेल मात्र हुनेछ। उनी टी-१० लिगपछि मात्र एनपिएलमा आउने विराटनगर किंग्सका टिम अफिसियलले यसअघि नै सार्वजनिक गरेका थिए।
यस्तै जनकपुर बोल्ट्समा आबद्ध भएका दक्षिण अफ्रिकी बलर इमरान ताहिरले पनि पहिलो खेल गुमाउँदैछन्।
जनकपुरका एक अफिसियलका अनुसार ताहिर सोमबार हुने काठमान्डु गोर्खाज र जनकपुरबीचको पहिलो खेलपछि मात्र नेपाल आइपुग्नेछन्।