अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका क्रममा दर्शकका लागि तोकिएको टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग गरेको छ।
अखिल (क्रान्तिकारी) का उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थी टोलीले नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा प्रिमियर लिग क्रिकेटको टिकट दर विद्यार्थी वर्गका लागि निकै महंगो रहेको र त्यसले गर्दा उक्त खेलकुदमा विद्यार्थीहरूको पहुँचलाई अवरुद्ध गर्ने भन्दै विद्यार्थी परिचयपत्रका आधारमा ५०% छुटको व्यवस्था गर्न माग गरिएको छ।
साथै क्रान्तिकारीले सरकारी विद्यालयका विद्यार्थीहरूलाई विशेष निःशुल्क प्रवेश कोटा कायम गर्न र खेलकुदलाई व्यावसायिक भन्दा बढी जनमुखी सहभागिता र राष्ट्रिय गौरवको प्रतीक बनाउन समेत क्यान सचिव खड्कासँग माग गरेको विद्यार्थी नेता अनिकेत तिवारीले बताए।