सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजले कर्णाली याक्सलाई मंगलबार ४ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच बल बाँकी छदा ६ विकेट गुमाएर पूरा गर्यो।
चितवनका लागि ओपनर रवी बोपाराले अर्धशतक प्रहार गरे। १९औं ओभरमा आउट हुनुअघि उनले ५२ रन जोडे। उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनर दीपक बोहराले ४२ रन बनाए। उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। त्यसअघि डविड मलान ६ रन र देव खनाल २ रनमा आउट भए। दुवैलाई युनिस ठकुरीले आउट गरेका थिए। उनले मलानलाई क्याच गराउँदा खनाललाई रनआउट गरे।
कप्तान कुशल मल्लले १५ बलमा २ छक्काको मद्दतमा २० रन बनाए। चितवनको जितमा सइफ जइबले १६ बलमा जोडेको ३८ रन महत्वपूर्ण सावित भयो। १८औं ओभरमा सोमपाल कामीको डलबिडब्लूको धरापमा पर्नुअघि उनले लगातार दुई छक्का प्रहार गरेका थिए।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिँदा मार्क वाट, युनिस ठकुरी र युवराज खत्रीले १-१ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६६ रन बनायो।
ओपनिङ ब्याटर प्रियांक पाञ्चालले ९० रनको योगदान गरे। यद्यपी चितवनका बोपारा र जइबले उत्कृष्ट ब्याटिङ गर्दा उनको ९० रन कर्णालीलाई काम लाग्न सकेन। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। उनीसँग अर्का ओपनर म्याक्स ओ’डाउडले पहिलो विकेटका लागि ८.५ ओभरमा ६१ रनको साझेदारी गरे। सइफ जइबबाट बोल्ड हुनुअघि म्याक्सले ३० बलमा २० रन जोड्न सके।
त्यसपछि पाञ्चलले दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरेका थिए। वाटले सोहेल तन्विरको बलमा क्याच हुनुअघि २१ बलमा १ चौका प्रहार गर्दै १६ रन बनाउन सके। पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २७ रन बनाए। ३ मध्ये २ छक्का पवनले १९औं ओभरको अन्तिम २ बलमा चितवनका सोहेल तन्विरलाई प्रहार गरे।
बलिङमा चितवनका बोपारा, जइब र तन्विरले १-१ विकेट लिए।
प्रियांक पञ्चाल भारतको घरेलु क्रिकेटमा चम्किएका खेलाडी हुन्। उनले गत मेमा सबै खाले क्रिकेटबाट संन्यास लिएका थिए।
घरेलु क्रिकेट खेलिरहेका खेलाडीले समेत विदेशमा खेल्न नपाउने भारतको नियम छ। त्यसैले प्रियांकले संन्यासपछि मात्र एनपिएल खेलेका हुन्। यद्यपी उनले गत महिना हङकङ सिक्सेसमा भारतीय टोलीबाट खेलेका थिए। उक्त प्रतियोगितामा भारतीय टोलीमा अधिकांस खेलाडी संन्यास लिइरहेका खेलाडी थिए।
भारतको अहमदावादमा जन्मिएका ३५ वर्षीय प्रियांक भारतको रणजी ट्रफीका उत्कृष्ट ब्याटरमध्येका एक हुन्।
१७ वर्ष भारतको घरेलु क्रिकेट खेल्दा उनले गुजरातका लागि रणजी ट्रफी जितेका थिए। उनी पहिलो श्रेणीको क्रिकेटमा गुजरातका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे। उनले ७०११ रन बनाएका थिए।
उनले गुजरातका लागि १२३ खेलमा लागि २३ शतक प्रहार गरेका थिए। लिस्ट ९७ खेल र टी-२० का ५९ खेलेका छन् उनले।
भारतको राष्ट्रिय टोलीमा स्थान बनाउन नसके पनि उनले भारतको ‘ए’ टोलीबाट भने खेलेका थिए। भारतीय टोलीमा पर्नका लागि उनले धेरै मिहिनेत समेत गरे। सन् २०२१-२२ को दक्षिण अफ्रिका रोहित शर्मा घाइते भएपछि टोलीमा स्थान पाए पनि खेल्न भने पाएनन्।