सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एजेभन्जर्सविरूद्ध दुई ब्याटरको अर्धशतकमा ६ विकेटको क्षतिमा २२० रन जोडेको छ।
यो स्कोर एनपिएलकै सर्वाधिक स्कोर हो। अघिल्लो सिजन विराटनगरले लुम्बिनी लायन्सविरूद्ध १९२ रनको लक्ष्य पूरा गर्दै जित निकाल्ने क्रममा १९३ रन जोडेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलको जोडीले बिस्फोटक ब्याटिङ गरे।
दुईबीच दोस्रो विकेटका लागि १३२ रनको साझेदारी भएको थियो।
गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए। ओपनर लोकेशले ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रन बनाए।
अर्का ओपनर जर्ज मुन्से भने ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रनमा क्याच भए। यस्तै बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे।
अन्तिम ओभरको पाँचौ बलमा रनआउट भएका शुभम रन्जनेले १६ बलमा ३८ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। नारायण जोशीले ३ बलमा नटआउट ११ रन बनाए।।
बलिङमा पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए।