सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। यसअघि विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ५ विकेटले पराजित गर्यो। काठमान्डु भने लगातार खेलमा पराजित भयो। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनको पराजय भोगेको थियो।
काठमान्डुले दिएको १३५ रनको सामान्य लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
विराटनगरका ओपनर लोकेश बम १० बलमा २ छक्काको मद्दतमा १४ रनमा आउट भए पनि जर्ज मन्से र मार्टिन गप्टिलले दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे।
सातौं ओभरमा आउट हुनुअघि मन्सेले १६ बलमा ५ चौका र २ छक्काको मद्दतमा ३६ बनाए। उनी काठमान्डुका शाहब अलामको एलबिडब्लूको धरापमा परेका थिए।
गप्टिलले १९ बलमा २५ रन बनाए। २ चौका र १ छक्का प्रहार गरेका उनलाई पनि शाहबले नै इरासमसबाट क्याच गराए। बासिर अहमदलाई इरासमसले १९ रनमा पेभिलियन फर्काए। यस्तै नरेन भट्टले ३० बलमा २ चौकाको मद्दतमा २४ रन प्रहार गरे। उनी १७औं ओभरमा सन्तोष यादवको बलमा करण केसीबाट क्याच भए। कप्तान सन्दीप लामिछानेले नटआउट ९ र शुभम रन्जनेले नटआउट ६ रन बनाए।
बलिङमा काठमान्डुका शाहब आलमले २ विकेट लिए। उनले ४ ओभरमा १९ रन दिए। करण केसी, सन्तोष यादव र इरासमले १-१ विकेट लिए।
त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुका लागि आदिल अन्सारीले २५ बलमा नटआउट ४८ रन जोडे। जसका कारण काठमान्डुले ६ विकेटको क्षतिमा १३४ रनको सम्मानजनक स्कोर खडा गर्यो।
खराब ब्याटिङ गरेको काठमान्डुका लागि तीन पटक जीवनदान पाएका अन्सारीले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
ओपनर आकाश त्रिपाठी पहिलो ओभरमै शून्य रनमा मार्स्याङ डि लाङको बलमा क्याच भए। त्यसपछि रिकार्डो भास्कोनसेलोन्स ३ रनमा रनआउटको सिकार बने।
प्रतिक श्रेष्ठ पनि २ रनमा आउट भएपछि काठमान्डुले पाँच ओभरभित्रै तीन विकेट गुमायो भने १३ रनमा मात्र जोड्न सके। पावरप्लेमा डि लाङले दुई विकेट लिए।
त्यसपछि दबाबमा परेको काठमान्डुका इरासमसले १८ बलमा १० रन मात्र जोड्न सके। उनी नवौं ओभरमा सूर्य तामाङबाट क्याट एन्ड बल्ड भए।
सम्हालिएर ब्याटिङ गरेका ओपनिङ ब्याटर बेन चार्ल्सवेथले ३३ बलमा १ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाए। सन्तोष यादवले २४ बलमा २६ रनको योगदान गरेका थिए।
बलिङमा डिङ लाङले २ विकेट लिए भने शुभम रन्जने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले १-१ विकेट हात पारे।
लिगमा आइतबार कुनै खेल हुनेछैन। सोमबार पहिलो खेलमा पौने १२ बजे विराटनगरले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा अपरान्ह चार बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।