शुक्रबार सेतोपाटीसँग कुरा गर्दै कर्णाली याक्सका कप्तान सोमपाल कामीले भनेका थिए— हामीले स्कटल्यान्डका उत्कृष्टमध्येका एक मार्क वाटलाई पाएका छौं। उनले देशको प्रतिनिधित्व गर्दा बलरको भूमिका गर्छन्। तर उहाँको प्रतिभा अरू पनि छ। त्यो हाम्रो लागि काम लाग्छ।
नभन्दै वाटले शनिबार आफ्नो उत्कृष्ट खेल देखाए। उनकै उत्कृष्ट प्रदर्शनमा कर्णालीले नेपाल प्रिमियर लिग (एनपिएल) को यो सिजनमा पहिलो जित निकाल्न सफल भयो।
उसले लुम्बिनी लायन्समाथि एकपक्षीय खेल देखाउँदै ९ विकेटको शानदार जित दर्ता गर्यो। बलिङमा ३ ओभरमा १६ रन खर्चिएर एक विकेट लिएर एक रनआउटसमेत गरे।
त्यसपछि भारतीय अनुभवी ब्याटर प्रियांक पाञ्चालसँग ओपनिङ गरेका वाटले कीर्तिपुरस्थित त्रिवि मैदानमा चौका र छक्काको वर्षा नै गरे।
स्कटल्यान्डको एडिनबर्गमा जन्मिएका २९ वर्षीय वाट राष्ट्रिय टोलीमा ब्याटरभन्दा पनि बलरको रूपमा परिचित छन्।
देब्रेहाते स्पिनर वाटले स्कटल्यान्डका तल्लो क्रममा ब्याटिङ गर्दै आएका छन्। शनिबार उनले ब्याटिङमा जीवनकै अविस्मरणीय इनिङ्स खेले। किनकि उनले करिअरकै पहिलो शतक प्रहार गर्दा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो।
उत्कृष्ट लयमा देखिएका वाटले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै अविजित ११४ रन बनाए। वाटले दशौं ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलविरुद्ध २६ रन प्रहार गरेका थिए। सो ओभरमा उनले चार छक्का र एक पटक दुई रन लिएका थिए।
वाटले यो सिजनको एनपिएलमा पहिलो शतक प्रहार गरेका हुन्। अघिल्लो सिजन पोखराका लागि आन्द्रेस गौसले लुम्बिनी लायन्सविरुद्ध नै १०४ रन बनाएका थिए।
एनपिएलमा वाट सर्वाधिक छिटो शतक पूरा गर्ने ब्याटर बने। उनले ४१ बलमै शतक पूरा गरे। अघिल्लो सिजन गौसले ५४ बलमा शतक प्रहार गरेका थिए।
साथै वाटले एनपिएलकै एकै इनिङ्समा सर्वाधिक छक्का (१२) प्रहार गर्ने कीर्तिमान पनि बनाए। यस्तै उनले एनपिएलको एकै इनिङ्समा सर्वाधिक रन (अविजित ११४) को रेकर्ड पनि राखे।

खेलपछि उनले ओपनिङमा मौका दिएकोमा प्रशिक्षक र कप्तानलाई धन्यवाद दिए। साथै टोलीको विश्वासलाई सार्थक बनाएको तथा पहिलो जित निकाल्दा खुसी व्यक्त गरे।
उनले आफू हरेक बलमा छक्का हान्ने प्रयास गरेको पनि बताए। 'नेटमा हरेक बललाई छक्का हान्ने प्रयास गरेको थिएँ, मैदानमा पनि त्यहीँ गरें,' आफ्नो शतकबारे उनले भने, 'आक्रामक सुरुवात दिलाउन सक्यौं भने टोलीका लागि राम्रो हुन्छ। मेरो योजना सकेसम्म छिटो धेरै रन बनाउनु थियो।'
उनले नेपालका 'अद्भुत' दर्शकका अघि शतक बनाउनु विशेष रहेको पनि बताए।
आफ्नो करिअरको पहिलो शतक भएको स्पष्ट पार्दै उनले भने, 'यति अद्भुत दर्शकहरू सामुन्ने शतक बनाउन पाउनु साँच्चै विशेष हो। यो मेरो क्रिकेट जीवनको सबैभन्दा खुसीको दिनहरू मध्ये एक हो र सबैप्रति आभारी छु। यो शतक कर्णालीलाई समर्पण गर्न चाहन्छु।'
यद्यपि उनले शतक बनाउनुअघि जीवनदान पाएका थिए। ३९ रनमा खेलिरहँदा उनको क्याच लुम्बिनीका अभिषेक गौतमले ड्रप गरेका थिए।
'केही क्याच ड्रप भएका थिए, त्यसैले आज भाग्य निश्चित रूपमा मेरो पक्षमा थियो र मैले त्यसको फाइदा उठाएँ,' उनले भने।
वाटले सन् २०१५ मा स्कटल्यान्डको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले स्कटल्यान्डबाट ८२ एकदिवसीय र ७७ टी–२० खेल खेलेका छन्। राष्ट्रिय टोलीमा आएको दुई वर्षसम्म उनको प्रदर्शन औसत रह्यो।
सन् २०१७ मा दुबईमा नेदरल्यान्ड्सविरुद्ध टी–२० खेलमा उनले ५ विकेट लिएपछि उनको चर्चा चुलियो। त्यतिबेला नेदरल्यान्ड्स ८२–४ बाट वाटको बलिङले धराशायी भयो। उसले सय रन नजोड्दै ९ विकेट गुमायो।
सन् २०१७ मै उनले इंग्ल्यान्डविरुद्ध एकदिवसीय खेलमा ३ विकेट लिए। यो स्कटल्यान्डको इंग्ल्यान्डमाथिको पहिलो जित थियो।
इंग्ल्यान्डविरुद्धको जितले उनलाई इंग्लिस काउन्टी लन्कासायरले मौका दियो। तर चार खेलमा उनले जम्मा १ विकेट मात्र लिन सके।
सन् २०१९ मा ओमानमा भएको चारदेशीय टी–२० सिरिजमा वाटले स्कटल्यान्डलाई उपाधि जिताउन ठूलो भूमिका खेले। आयरल्यान्ड र ओमानविरुद्धका दुवै जितमा उनले समान ३–३ विकेट लिएका थिए। त्यही वर्ष यूएईमा भएको टी–२० विश्वकप छनोटमा उनले १२ विकेट लिएर स्कटल्यान्डलाई मुख्य प्रतियोगितामा छनोट गराए।
सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुग्न स्कटल्यान्डले विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि जित्यो । त्यसमा मार्क वाटको ठलो योगदान थियो।
उनले लिग–२ को पछिल्ला दुई सिरिज—नामिबिया र नेपाल (कीर्तिपुर) मा ७ खेलमा २० विकेट लिए। अघिल्लो संस्करणको लिग–२ मा स्कटल्यान्डले ३६ खेलमध्ये २४ मा जित निकाल्यो। जसमा उनले ५ खेलबाहेक सबै एकदिवसीय खेल खेले र ५४ विकेट लिए।