कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेसँगै एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेट एसोसियसनलाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ ।
कर्णाली याक्सले दोस्रो संस्करणको एनपिएलको लागि एसियन पेन्ट्ससँग सहप्रायोजकको सम्झौता गरेको छ । कर्णाली याक्सले जितेको हरेक खेलमा एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेटको विकासकोे लागि एक लाख रुपैँया दिने सम्झौता भएको थियो ।
पूर्व प्रतिबद्धताअनुसार आइतबार एसियन पेन्ट्सले एक कार्यक्रमबीच कर्णाली प्रदेश क्रिकेट संघका प्रतिनिधिलाई पूर्व घोषित एक लाख रुपैया उपलब्ध गराएको हो । कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका निर्देशक गृहेन्द्र घिमिरेको रोहबरमा एसियन पेन्ट्सका नेस्नल सेल्स, एक्टिभेसन एण्ड मार्केटिङ म्यानेजर दिपक बरालले कर्णाली क्रिकेट एसोसियसनका सचिव श्रीधर केसीलाई उक्त रकम बराबरको चेक उपलब्ध गराए ।
कर्णाली याक्सले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो । स्कटिस खेलाडी मार्क वाटले सतक बनाएपछि कर्णालीले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
पूर्वघोषित पुरस्कार पाएपछि कर्णाली क्रिकेटका सचिव तथा क्यानको केन्द्रिय सदस्य श्रीधर केसीले यो रकम कर्णाली क्रिकेटको ग्रासरुटमा प्रयोग गर्ने जानकारी गराए । ‘कर्णाली याक्स र एसियन पेन्ट्सबाट भएको सम्झौताले निकै खुसी मिलेको छ । यो रकम हामी ग्रासरुट क्रिकेट र कर्णालीको क्रिकेट विकासमा प्रयोग गर्नेछौं ।’
निर्देशक गृहेन्द्र घिमिरेले एसियन पेन्ट्सलाई धन्यवाद दिए । उनले कर्णाली प्रदेशको क्रिकेट विकास र समग्र नेपाली क्रिकेटको विकासमा कर्णाली याक्स प्रतिवद्ध रहेको धारणा राखे । ‘यस्तै साना साना सहयोगले नेपाली क्रिकेटको विकास हुन्छ । हाम्रो सानो सहयोगले प्रदेश क्रिकेटको ग्रासरुटमा राम्रो होस् भन्ने चाहना छ,’ निर्देशक घिमिरले भने, ‘हामी कर्णाली याक्समात्रै नभएर प्रदेश क्रिकेटको विकास पनि चाहन्छौं । आगामी दिनमा अझै धेरै सहयोग गर्नेछौं । यो सहयोगको लागि एसियन पेन्ट्सलाई धन्यवाद ।’
कर्णाली याक्समा प्रदेशका पाँच खेलाडी रहेका छन् । विपिन शर्मा, युनिस विक्रम ठकुरी, दीपेन्द्र रावत, अर्जुन घर्ती र मनिष थापाले दोस्रो एनपिएल खेलिरहेका छन् । मनिष यसपटक ट्यालेन्ट हन्टबाट टिममा जोडिएका हुन् । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट उदाएका खेलाडी हुन् । कर्णाली याक्सले पहिलो संस्करणको अक्सनबाटै युनिस, दीपेन्द्र र अर्जुनलाई अनुबन्ध गरेको थियो ।
पहिलो सिजनमा प्लेअफसम्मको यात्रा गरेको कर्णालीले याक्सले मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतलाई जिम्मेवारी सुम्पिएको छ । टोलीले मार्की सोमपाल कामीसहित गुल्सनकुमार झा, नन्दन यादव, विपिन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिषविक्रम ठकुरी रिटेन गरेको थियो ।
कर्णाली याक्सले मिनि अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो । यता, विदेशी खेलाडीमा अफगानिस्तान पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, अस्ट्रेलिया विलियम बासिस्टो, नेदरल्यान्ड्सका म्याक्स ओ डावड तथा भारतका जयकिसन कोल्सावाला र प्रियाङ पन्चाल छन् ।