सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १३६ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन जोड्न सक्यो। कुनै ब्याटर पनि अर्धशतक प्रहार गर्न नसकेको विराटनगरका लागि शुभन रन्जनेले सबैभन्दा बढी ३७ रन बनाए।
ओपनिङ ब्याटर जर्ज मुन्से तेस्रो ओभरमा १० रन बनाएर खेलिरहदा संगित कोरीबाट बोल्ड भए।
त्यसपछि मार्टिन गुप्टिल पनि चल्न सकेनन्। उनले आठौं ओभरमा आउट हुनुअघि १५ बलमा १ चौकाको मद्दतमा १३ रन मात्र जोड्न सके।
लोकेश बम २६ बलमा २८ रन जोडे। बाउन्ड्रीमा क्याच भएका उनले २६ बलमा १ चौका र २ छक्का प्रहार गरे।
बसिर अहदमले ३६ रन बनाए। १८औं ओभर रुपेश सिंहबाट बोल्ड हुनुअघि उनले ३५ बलमा ३ छक्का प्रहार गरे। उनले शुभम रन्जनेसँग चौथो विकेटका लागि ५२ रनको साझेदारी गरे। नारायण जोशी पनि २ रनमा रुपेश सिंहकै बलमा क्याच भए।
अन्तिम ओभरको दोस्रो बलमा शुभम रन्जने ३७ रनमा रनआउट हुनु पुगे । उनले २९ बलमा २चौका र २ छक्का प्रहार गरे। लगत्तैको बलमा मर्स्याङ डि लाङ पनि रननआउट नै भएका थिए।
बलिङमा जनकपुरका रुपेश सिंह र संगित कोरीले २-२ विकेट लिए।
यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर पराजित भएको थियो। जनकपुरमाथि काठमान्डु गोर्खाजले जित निकालेको थियो।
विराटनगर भने लगातार दुई खेलमा विजयी भएको थियो। विराटनगरले पहिलो खेलमा पोखरा एजेन्जर्स र दोस्रो खेलमा काठमाडौंलाई पराजित गरेको थियो।