सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो उच्च लय कायमै राखेको छ।
सोमबार सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्समाथि ४५ रनको जित निकाल्यो। यो सुदूरपश्चिमको लगातार तेस्रो जित हो। जितले सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।
‘लो स्कोरिङ’ खेलको दुवै इनिङग्समा दीपेन्द्रले आफ्नो क्षमता देखाए।
कीर्तिपुरको चिसो मौसममा त्रिवि रंगशाला भरिभराउ थियो। यस्तोमा समर्थकको साथ पाएको सुदूरपश्चिमको सुरूवात भने राम्रो हुन सकेन।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेपछि दीपेन्द्रलाई पहिला ब्याटिङको निम्तो दिएका थिए। लगातार विकेट गुमाएको सुदूरपश्चिमले ६ ओभरको पहिलो पावरप्लेमा २७ रन जोड्दा दुवै ओपनर जोश ब्राउन र बिनोद भण्डारीलाई गुमाइसकेको थियो।
फेरि क्रिस लिन र इशान पाण्डे पनि थप २१ रन जोड्दा आउट भएपछि दीपेन्द्र क्रिजमा आए। सम्हालिएर ब्याटिङ गरेका उनले टोलीका लागि सर्वाधिक ३९ रन जोडे। आरिफ शेखले २७ रन जोडे भने अरु ब्याटर चल्न सकेनन् र सुदूरपश्चिम १३९ रनमै समेटियो।
यस्तोमा सुदूरपश्चिमका लागि खेल जित्न बलरकै निर्भर हुनु पर्ने अवस्था थियो। त्यसैले ऐरी आफैँ आफ्नो पहिलो स्पेल लिएर दोस्रो ओभरमा बलिङमा आए। जुन निर्णय सहि सावित भयो।
उनले भारतका अनुभवी ब्याटर प्रियांक पाञ्चाललाई बिनोद भण्डारीबाट स्टमपिन गराए।
चौथो ओभरमा उनले अघिल्लो खेलमा शतक प्रहार गरेका कर्णालीका मार्क वाटलाई एलबिडब्लूको धरापमा परे।
पावरप्लेमै आफ्नो तेस्रो स्पेल बलिङ गरेका दीपेन्द्रले अफगान ब्याटर नाजिबुल्लाह जाद्रानलाई एलबिडब्लू आउट गरे। त्यसपछि त के चाहियो र दीपेन्द्रले आफ्नो सेलिब्रेसन दर्शकका अगाडि प्रस्तुत गरे। मैदानमा कुदेर समरसल्ट (उल्टी जम्प) हाने।
अघिल्लो ओभरमा विल बोसिस्टोलाई हेमन्त धामीले आउट गरेका कारण सुदूरपश्चिमले पावरप्लेमा ४ विकेट लिँदा ३३ रन मात्र दियो।
यसरी सुरुमै खेल नियन्त्रणमा लिएको सुदूरपश्चिम खेलमा हाबी देखियो। तर कर्णालीका पवन सर्राफ (२७ रन) र सोमपाल कामीले (१४) ले इनिङ सम्हाल खोजे पनि धेरै बेर टिक्न सकेनन्।
त्यसपछि क्रिजमा आएका गुल्सन झामाथि कर्णालीको विश्वास थियो। तर गुल्सन झालाई १४औं ओभरको अन्तिम बलमा १३ रन बनाएर खेलिरहदा ऐरीले बोल्ड गरिदिए। त्यसपछि ऐरीले फेरि समरसल्ट गरेर खुसी मनाए।

एकै खेलमा दुई पटक समरसल्ट गर्नुको कारणबारे खेलपछि दीपेन्द्रले भने, ‘सुरुमा गरेको सेलिब्रेसनका (समरसल्ट) लागि कुनै प्लान खासै थिएन। त्यो आफैँ आउने कुरा हो। गुल्सनको विकेटलिएपछि भने उसले र मैले आ-आफ्नो सर्त लगाएका थियौं। त्यसमा मैले जिते। त्यहिँ भएर मैले सेलिब्रेसन गरेको हुँ।’
तर उनले कस्तो खालको सर्त लगाएको भन्ने कुरा भने खुलाएनन्।
ऐरीले आजको खेलमा ब्याटिङ गर्न गाह्रो भएको पनि बताए। बल घुमिरहेको र आफूले पहिले नै ‘हाइ स्कोरिङ’ खेल नहुने अपेक्षा गरेको उनको भनाइ छ। ‘त्यसैले १४०-१५० रन महत्वपूर्ण हुने अनुमान थियो,’ उनले भने।
टोलीको बलिङ र ब्याटिङले राम्रो गर्दा मनोबल पनि बढेको बताए।
उनले भने, ‘बलिङ, ब्याटिङ र फिल्डिङ राम्रो रहेको छ। टिमले राम्रो खेल्यो भने अवश्य पनि कप्तानको मनोबल उच्च हुन्छ।’
यसरी दीपेन्द्रको स्पिनमा घुमेको कर्णाली ९४ रनमै अलआउट भयो। ३९ रन र ४ विकेट लिएका दीपेन्द्र प्लेयर अफ दि म्याच भए।
खेलपछि कर्णालीका प्रशिक्षक राजु बस्नेतले पनि दीपेन्द्रको प्रशंसा गरे। उनले दीपेन्द्रले उत्कृष्ट खेल्दै ‘म्याच विनर’ को रूपमा अघि आएको पनि बताए।

दीपेन्द्रको बलिङमा घुमेको कर्णाली
जारी एनपिएलमा सुदूरपश्चिमसँगै विराटनगर किंग्सले लगातार तीन खेलमा जित निकाल्यो। कर्णाली भने तीन खेलमध्ये दुई खेलमा पराजित भइसकेको छ।
सोमबार सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णाली चार बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो।
खराब सुरुवात गरेको कर्णालीको कुनै पनि बेला ब्याटिङ सम्हालिन सकेनन्। ओपनर प्रियांक पाञ्चाल शून्यमा आउट भए। उनलाई सुदूरपश्चिमका कप्तान ऐरीले पहिलो ओभरमै विनोद भण्डारीबाट स्टमपिन गराए।
अघिल्लो खेलमा शतक प्रहार गरेका मार्क वाटलाई दीपेन्द्रले नै १७ रन बनाएर खेलिरहदा चौथो ओभरमा एलबिडब्लूको धरापमा परे। अर्को ओभरमा विल बोसिस्टोलाई हेमन्त धामीले विकेट पछाडि बिनोद भण्डारीबाट ३ रनमा क्याच गराए।
छैटौं ओभरमा दीपेन्द्रले नाजिबुल्लाह जाद्रानलाई एलबिडब्लूको धरापमा परेपछि कर्णालीले पावरप्लेमा चार विकेट गुमायो। दीपेन्द्रले पावरप्लेमा आफ्नो बलिङको जादू देखाएपछि कर्णाली संकटमा परेको थियो।
त्यसपछि कर्णालीका कप्तान सोमपाल कामी १४ रन र पवन सर्राफले २७ रन जोडे। सोमपाल र पवनले पाँचौ विकेटका लागि ३२ रनको साझेदारी गरे। गुल्सन झालाई दीपेन्द्रले १३ रनमा १४औं औभरको अन्तिम बलमा बोल्ड गरे।
लगातार विकेट गुमाइरहेको कर्णालीका नन्दन यादव १ रन र युवराज खत्री शून्यमा आउट भए। अर्जुन घर्ती अन्तिम विकेटको रूपमा १३ रनमा आउट भए।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र ४ विकेट लिए। उनले ४ ओभरमा २३ रन खर्चिए। हर्मित सिंहले २ विकेट हात पारे भने १ मेडन फ्याँक्दा १९ रन दिए। अभिनास बोहराले पनि २ विकेट लिए भने स्कट कुगेइलिन र हेमन्त धामीले १-१ विकेट हात पारे।
टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिममले ९ विकेटको क्षतिमा १३९ रन बनायो। सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी ३९ रन बनाउन सके।
कर्णालीका कप्तान सोमपाल कामीले रोयल डक लिए। उनले सुदूरपश्चिमका ओपनर जोश ब्राउनलाई इनिङग्सको पहिलो बलमै बोल्ड गरेर रोयल डक गराए। पहिलो ओभरमै उत्कृष्ट बलिङ गरेका सोमपालले पहिलो ओभरमा मेडन राखे।
त्यसपछि विनोद भण्डारी पाँचौ ओभरमा विपिन शर्माको एलबिडब्लूको धरापमा परे। भण्डारीले १३ बलमा १ चौकाको मद्दतमा ११ रन मात्र जोड्न सके।
क्रिस लिन आठौं ओभरमा आउट भएपछि खेल कर्णालीले नियन्त्रणमा लियो। लिनलाई युवा स्पिनर युवराज खत्रीले विल बोसिस्टोबाट क्याच गराएका थिए। २० बलमा १८ रन बनाएका लिनले २ चौका प्रहार गरे।
इशान पाण्डे दुई रनमा रनआउट हुँदा आरिफ शेखलाई १३औं ओभरमा नन्दन यादवले २७ रन बनाएर खेलिरहदा बोल्ड गरे। उनले २५ बलमा ३ चौका प्रहार गरे।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंहबीच साझेदारी हुँदा सुदूरपश्चिमको इनिङ्गस सम्हालिएको थियो। उनीहरूबीच छैटौं विकेटका लागि ४८ रनको साझेदारी भयो।
१६ बलमा १ चौका र १ छक्काको मद्दतमा १९ रन जोडेका हर्मितलाई कर्णालीका कप्तान सोमपालले १७औं ओभरमा बोल्ड गरेका थिए। अर्को ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी ३९ रन जोडेर आउट भए। सुदूरपश्चिमका लागि सबैभन्दा बढी रन जोडेका ऐरीलाई मार्क वाटले नाजिबुल्लाह जाद्रानबाट क्याच गराए।
१९औं ओभरमा नरेन साउद हिट विकेट भए। अन्तिम ओभरको पहिलो बलमा स्कट कुगेइलिन नन्दन यादवबाट बोल्ड भए। उनले ८ बलमा १ छक्काको मद्दतमा १० रन बनाए।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ३२ रन खर्चिए। नन्दन यादवले २ विकेट लिने क्रममा ३ ओभरमा ११ रन मात्र खर्चिए।
मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट हात पारे।