मध्यक्रमका ब्याटरले खराब प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लगातार दोस्रो खेलमा पराजय भोगेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीलाई काठमान्डु गोर्खाजले २२ रनले पराजित गरेको हो। काठमान्डुले चार खेलमा दोस्रो जित निकाल्दै प्लेअफमा पुग्नका लागि राहत पाएको छ।
पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको लुम्बिनीले पछिल्ला दुई खेलमा पराजय भोगिसकेको छ। अघिल्लो खेलमा लुम्बिनीलाई कर्णाली याक्सले ९ विकेटले पराजित गरेको छ।
मंगलबार काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १३५ रनमा अलआउट भयो।
खराब सुरूवात गरेको लुम्बिनीको मध्यक्रम पनि कोल्याप्स भएको थियो। ओपनरद्वय सन्दीप जोरा ७ रन र डार्शी सट २२ रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल र गुल्बादिन नइबले ११-११ रन मात्र जोड्न सके।
जोरा दोस्रो ओभरमा र शर्ट चौथो ओभरमा काठमान्डुका मिलिन्द कुमारको बलमा क्याच भएका थिए। अर्को ओभरमा नइबलाई शाहब अलामले इरासमबाट क्याच गराउँदा रोहित आठौं ओभरमा इरासमकै एलबिडब्लूको धरापमा परे।
जेजे स्मित र सुमित महर्जन दुवै जना ११औं ओभरमा आउट हुन पुगेका थिए। स्मितलाई ८ रन बनाएर खेलिरहदा सन्तोष यादवको बलमा शाहबले उत्कृष्ट क्याच गराउदा सुमितलाई शून्यमा पनि शाहबले नै डाइरेक्स हिटमार्फत रनआउट गरे। रुबेल ट्रम्पलम्यान ५ रनमा इरासमसको बलमा रशिद खानबाट क्याच भए।
१६औं ओभरमा दिलीप नाथ आउट भएपछि लुम्बिनी हारतर्फ अघि बढेको थियो। चौथो बलमा करण केसीको बलमा उनी क्याच भए। अघिल्लो बलमा छक्का प्रहार गरेका उनले निकै सुस्त ब्याटिङ गरे। उनले ३३ बलमा १ चौका र १ छक्का प्रहार गर्न सके भने २५ रन बनाए।
लुम्बिनीका लागि अन्तिममा आशा देखाएका शेर मल्लले १८ बलमा २७ रन जोडे। १८औं ओभरमा रनआउट भएका उनले अघिल्लो ओभरमा शाहबलाई लगातार तीन छक्का प्रहार गरेका थिए। अन्तिम विकेटको रुपमा अभिसेष गौतम ४ रनमा आउट भए भने तिलक भण्डारीले नटआउट ६ रन बनाए।
बलिङमा काठमान्डुका मिलिन्द कुमार र इरासमसले २-२ विकेट लिए। करण केसी, शाहब आलम, सन्तोष यादव र रशिद खानले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले कप्तान करण केसीले ११ बलमा १ चौका र ४ छक्काको मद्दतमा नटआउट ३४ रन जोडेपछि ८ विकेटको क्षतिमा १५७ रन जोड्यो।
करण केसीले अन्त्यमा उत्कृष्ट ब्याटिङ गरे पनि काठमान्डुको ओपनिङ खराब रह्यो।
काठमान्डु ओपनिङ ब्याटर बेन चार्ल्सवर्थ डक आउट भए। दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल बलिङ गर्न आएका लुम्बिनीका शेर मल्लले उनलाई गोल्डन डक गरे।
त्यसपछि काठमान्डुले रशिद खानलाई पठायो। रशिद पाँचौं ओभरमा रुबेल ट्रम्पलम्यानको बलमा १४ रनमा क्याच भए। उनले १० बलमा २ चौका प्रहार गरे।
त्यसपछि ओपनर आकाश त्रिपाठी र मिलिन्द कुमारले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरे। आकाशले शेर मल्लको बलमा डार्शी सटबाट क्याच हुनुअघि ३६ बलमा ३ चौका प्रहार गर्दा ३२ रन बनाए।
१२औं ओभरमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले दुई विकेट लिएपछि काठमान्डु संकटमा पर्यो। रोहितले यो ओभरको दोस्रो बलमा जोन सिमसनलाई ७ रनमा कट एन्ड बाउल्ड गर्दा अन्तिम बलमा मिलिन्द कुमारलाई १७ रनमा विकेट पछाडि शेर मल्लबाट क्याच गराए। मिलिन्दले २० बल खेल्दा १ चौका प्रहार गर्न सके।
लगातार विकेट गुमाएको काठमान्डुका सन्तोष यादवले १६ बलमा २ छक्काको मद्दतमा २६ रन र इरासमसले १५ बलमा २ चौकाको मद्दतमा १७ रन बनाए। सन्तोष १७औं ओभरमा ट्रम्पलम्यान र इरासमस १८औं औभरमा गुल्बादिन नइबको बलमा क्याच भएका थिए।
तर १९औं ओभरमा ट्रम्पलम्यान खर्चिलो सावित भए। उनले यो ओभरमा ३१ रन खर्चिदा काठमान्डुले १५० रन कटाएको थियो।
यो ओभरमा काठमान्डुका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरेर आफ्नो टोलीलाई राहत दिए। करणले पहिलो बलमा छक्का प्रहार गरे। नो बल भएको दोस्रो बलमा चौका, फ्रि हिटमा छक्का, तेस्रो बलमा छक्का, चौथो बलमा एक रन, पाँचौ बलमा आदिल अन्सारीले एक रन र अन्तिम छक्का प्रहार गरे। जसका कारण काठमान्डुलाई राहत मिल्यो।
अन्तिम ओभरको पहिलो बलमा गुल्बादिनको बलमा क्याच भएका आदिल अन्सारीले ४ रन मात्र जोड्न सके। करणले नटआउट ३४ रन जोड्दा १ चौका र ४ छक्का प्रहार गरे।
बलिङमा लुम्बिनीका ट्रम्पलम्यान, शेर मल्ल, गुल्बादिन नइब र रोहित पौडेलले २-२ विकेट लिए।