सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा रवी बोपाराको अर्धशतकको मद्दतमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १७४ रन जोड्यो।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६५ रन जोडे। बोपारा अन्तिम ओभरमा शुभम् रन्जनेको बलमा साम हेजलेटबाट क्याच भएका थिए।
बोपाराले जारी सिजनमा तीन खेल खेल्दा तीनै खेलमा अर्धशतक पूरा गरेका हुन्। यसअघि उनले लुम्बिनी लायन्सविरूद्ध ६६ रन र कर्णाली याक्सविरूद्ध ५२ रन बनाएका थिए। अघिल्लो सिजन पनि उनले तीन अर्धशतक प्रहार गरेका थिए। उनी एनपिएलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर समेत हुन्।
आजको खेलमा उनले चार रनमा जीवनदान पाएका थिए। दशौं ओभरको पाँचौं बलमा नरेश भट्टको बलमा रवीको क्याच बाउन्ड्री लाइनमा प्रतिश जिसीले छाडेका थिए। आजको खेलमा अर्धशतक प्रहार गरेसँगै उनी जारी सिजनको सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले तीन खेलमा तीन अर्धशतको मद्दतमा १८३ रन बनाइसकेका छन्।
त्यसअघि ओपनरद्वय दीपक बोहराले ५ रन र डेभिड मलानले १७ रन बनाए। बोहरालाई विराटनगरका तीव्र गतिका बलर मार्स्याङ डि लाङले दोस्रो ओभरमा विकेटकिपर लोकेश बमबाट क्याच गराए। चौथो ओभरमा लाङले मलानलाई बोल्ड गरेका थिए।
त्यसपछि देव खनालले चितवनको इनिङ उकास्न खोजे। तर उनी नवौं ओभरमा सन्दीप लामिछानेको बलमा २८ रन बनाएको अवस्थामा साम हिजलेटबाट क्याच भए।
मध्यक्रमका ब्याटर साइफ जइबले जोडेको ३२ रन पनि चितवनका महत्वपूर्ण सावित भयो। उनले ३० बलमा १ चौका र १ छक्का प्रहार गरे। उनी पनि सन्दीपकै बलमा १४औं ओभरमा क्याच भए। क्यान हुनुअघि अघिल्लो बलमा उनले सन्दीपलाई छक्का प्रहार गरेका थिए।
कप्तान कुशल मल्लले नटआउट २० रन बनाए। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दा अमरसिंह रौटेलाले नटआउट ३ रन जोडे।
बलिङमा विराटनगरका कप्तान सन्दीप र डि लाङले २-२ विकेट लिए। १ विकेट रन्जनेको नाममा रह्यो। आजको खेलमा २ विकेट लिएसँगै सन्दीपले जारी सिजनमा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा अग्रता बनाएका छन्। उनले चार खेलबाट ९ विकेट लिइसकेका छन्।