सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को एक्लो अपराजित टोली सुदूरपश्चिम रोयल्सले लगातार चौथो खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ।
बिहीबार लुम्बिनी लायन्समाथि ७ विकेटको जितसँगै सुदूरपश्चिम लगातार चौथो खेलमा विजयी भयो। यता लुम्बिनी भने आफ्ना चार खेलमध्ये तीन खेलमा पराजित भइसकेको छ। जसका कारण लुम्बिनीको प्लेअफ दौड कठिन बन्दै गएको छ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १८.२ ओभरमा पूरा गर्यो।
सुदूपश्चिमको जितमा ओपनिङ ब्याटर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। भण्डारीले नटआउट ६९ रन जोड्ने क्रममा ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
भण्डारीले आरिफ शेखसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे। आरिफ शेखले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

ओपनर अस्ट्रेलियन ब्याटर जोश ब्राउन ९ रनमा आउट भएका थिए। अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनले पनि १६ रन मात्र बनाउन सके।
त्यसअघि टस जितेको सुदुरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा १४३ रन जोड्यो।
लुम्बिनीका ओपनरद्वय डार्शी सर्ट र सुमित महर्जनले १८-१८ रन मात्र बनाउन सके। सर्टलाई सुदूरपश्चिमका हेमन्त धामी तेस्रो ओभरमा बोल्ड गरे। त्यसअघि उनले ११ बलमा ४ चौका प्रहार गरे। सुमित महर्जन सातौं ओभरमा हर्मित सिंहको एलबिडब्लूको धरापमा परे। उनले १४ बलमा ३ चौका प्रहार गरे।
त्यसपछि कप्तान रोहितकुमार पौडेल र दिलिप नाथबीच तेस्रो विकेटका लागि ५२ रनको साझेदारी भयो। रोहितले १५औं ओभरमा हेमन्त धामीको बलमा विनोद भण्डारीबाट समातिनुअघि ३६ बलमा ३ चौका प्रहार गरे।
१७औं ओभरमा लुम्बिनीले तीन विकेट गुमायो। अभिनास बोहोराले दोस्रो बलमा गुल्बादिन नइबलाई विनोद भण्डारीबाट क्याच गराए। उनले ९ बलमा ११ रन बनाए। पाँचौ बलमा रुबेन ट्रम्पलम्यानलाई कप्तान दीपेन्द्रसिंह ऐरीले शून्यमा डाइरेक्ट हिटमार्फत रनआउट गरे। अन्तिम बलमा दिलीप नाथ पनि विकेट पछाडि समातिए। नाथले २९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए।
यस्तै १८औं ओभरको पहिलो बलमा शेर मल्ल ४ रनमा स्कट कुगेइलिनबाट बोल्ड भए।
सन्दीप जोरा पनि सस्तैमा आउट भए। तल्लो क्रममा ब्याटिङ गरेका जोरा १९औं ओभरको अन्तिम बलमा अभिनास बोहराको बलमा स्कट कुगेइलिनबाट ७ रनमा क्याच भए।
आजको खेलमा मौका पाएका इटालीका थोमस ड्राका अन्तिम ओभरको पहिलो बलमा ६ रनमा क्याच भए। हर्मित सिंहको बलमा उनी ऐरीबाट क्याच भए। यस्तै चौथो बलमा अभिसेष गौतम पनि ६ रनमा क्याच भए। यसमा पनि ऐरीले नै क्याच लिए।
बलिङमा सुदुरपश्चिमका हर्मित सिंह र अभिनास बोहराले ३-३ विकेट लिए। हेमन्त धामीले २ विकेट लिए भने स्कट कुगेलिइनको नाममा १ विकेट लियो।
खेलका लागि सुदूरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको थिएन। लुम्बिनीमा भने एक परिवर्तन गरिएको थियो लुम्बिनीले जेजे स्मितको स्थानमा थोमस ड्राका खेलाएको थियो।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, गुलबदिन नाइब, रूबेन ट्रम्पलम्यान, थोमस ड्राका र डार्शी शर्ट।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, नरेन साउद, इशान पाण्डे, बिनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलेइन, जोस ब्राउन, हरमीत सिंह