सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजले तेस्रो जित निकालेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दिनको पहिलो खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डुले तेस्रो जित निकालेको हो। काठमान्डुले आफ्ना पाँच खेलमध्ये तीन खेलमा जित निकालेको हो। यता चितवन भने आफ्ना चार खेलमध्ये दुई खेलमा पराजित भएको छ।
काठमान्डुले दिएको १४३ रनको सामान्य लक्ष्य भए पनि चितवनको ब्याटिङ राम्रो हुन सकेन। चितवन १७.२ ओभरमा ८९ रनमा अलआउट भयो।
पहिलो ओभरमा दिपक बोहरा शून्यमा करण केसीको बलमा क्याच भए। काठमान्डुका मिलिन्द कुमारले चौथो ओभरमा मिलिन्द कुमारलाई ७ रनमा क्याच गराए।
लगातार विकेट गुमाएको चितवनका सइफ जइब १ रन र कप्तान कुशल मल्ल १३ बल खेल्दा ६ रनमा आउट भए।
कुशल आउट हुनुअघि देव खनाल २१ बनाएर पेभिलियन फर्के। अर्जुन साउदले २ रन जोड्दा अघिल्ला तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका रवी बोपारा आज २१ रनमै आउट भए। बोपारालाई रशिद खानले इरासमसबाट क्याच गराए।
सोहेल तन्विरलाई करण केसीले १८ रनमा बोल्ड गरे भने कमलसिंह ऐरीलाई रशिद खानले ९ रनमा पेभिलियन फर्काए। अन्तिम विकेटको रुपमा रन्जित कुमार स्टमपिन भए।
बलिङमा काठमान्डुका रशिद खानले ३ विकेट लिए भने करण केसी, मिलिन्द कुमार र शहाब अलामले २-२ विकेट हात पारे।
त्यसअघि टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डु १९.४ ओभरमा १४२ रनमै अलआउट भएको थियो।
काठमान्डुका ओपनरद्वय वेन चार्ल्सवर्थ १३ र आकाश त्रिपाठी ४ रनमा आउट भए। त्रिपाठी दोस्रो ओभरमा रनआउट भएका थिए भने चार्ल्सवर्थलाई चौथो ओभरमा सोहेल तन्विरले रवी बोपाराबाट क्याच गराए। त्यसअघि रशिन खान तेस्रो ओभरमा आउट भएका थिए। उनलाई रञ्जित कुमारले ६ रनमा बोपाराबाटै क्याच गराएका थिए।
त्यसपछि जोन सिमसन र मिलिन्द कुमारबीच तेस्रो विकेटका लागि ९८ रनको साझेदारी भयो। बोपारबाट १६औं ओभरको अन्तिम बलमा बोल्ड भएका मिलिन्दले ४३ बलमा ५ चौकाको मद्दतमा ३८ रन जोडे।
अर्को ओभरमा सिमसन ६० रनमा पेभिलियन फर्के। सिमसनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए।
१८औं ओभरमा काठमान्डुले तीन विकेट गुमाउन पुग्यो। दोस्रो बल वाइड हुँदा पनि इरासमस स्टमपिन हुन पुगे। चौथो बलमा तन्विरले आदिल अन्सारीलाई ८ रनमा बोल्ड गरे। अन्तिम बलमा सन्तोष यादव तन्विरबाट कट एन्ड बाउन्ड भए। अर्को ओभरको पहिलो बलमा काठमाडौंले आफ्नो नवौं विकेट गुमायो। कप्तान करण केसीलाई रञ्जित कुमारले बाउन्ड्रीमा कमलसिंह ऐरीबाट क्याच गराए।
६ बलको अन्तरमा ४ विकेट गुमाएको काठमान्डु समान्य स्कोरमा रोकियो। यस्तै उनले पछिल्लो २३ बलको अन्तरमा ६ विकेट गुमाएको थियो।
बलिङमा तन्विरले ४ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। रञ्जित कुमारको नाममा २ विकेट रह्यो। उनले ४ ओभरमा २८ रन दिए। कमलसिंह ऐरीले पनि २ विकेट लिए। उनले २.४ ओभरमा १९ रन खर्चिए।
चितवनले आजको खेलमा एक परिवर्तन गरेको थियो। रिजन ढकाल आज टोलीमा फर्किएका छन्। आज अमरसिंह रौटेला टोलीमा थिएनन्।
चितवन राइनोज
कुशल मल्ल (कप्तान), रन्जित कुमार, देव खनाल, अर्जुन साउद (विकेटकिपर), रिजन ढकाल, दीपक बोहरा, कमलसिंह ऐरी, डबिड मलान, रवी बोपरा, सइफ जइब, सोहेल तन्विर।
काठमान्डु गोर्खाज
करण केसी (कप्तान), शहाब अलाम, दिपेश कडँले, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, गेरार्ल्ड इरासमस, जोन सिमसन।