सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्समाथि विराटनगर किंग्गसले रोमाञ्चक जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो।
कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले ७ विकेटको क्षतिमा एक बल खेल्न बाँकी छदा पूरा गर्यो।
अन्तिम दुई बलमा चार रन चाहिएको स्थितिमा विराटनगरका बसिर अहमदले कर्णालीका नन्दन यादवलाई छक्का प्रहार गर्दै टोलीलाई जिताए। अहमदले जोडेको नटआउट ६२ रन विराटनगरको जितमा महत्वपूर्ण सावित भयो। लगातार विकेट गइरहेको बेलमा अहमदले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरेर टोलीलाई जिताए। ्
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १० रन चाहिएको थियो। उनले सुरुवाती चार बलमा ६ रन दिएका थिए। पाँचौ बलमा बसिरले छक्का प्रहार गर्दा विराटनगरले रोमाञ्चक जित निकाल्यो।
बसिरले नारायण जोशीसँग ६९ रनको साझेदारी गरेपछि विराटनगर सहज अवस्थामा आएको थियो। जोशीले १६ बलमा २५ रनको योगदान गरे।
त्यसअघि विराटनगरले १२ ओभरमा ५ विकेट गुमाउँदा ६५ रन मात्र जोडेको थियो। त्यसपछि बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरले एक बल बाँकी छदै जित निकाल्ने क्रममा ७.५ ओभरमा ९८ रन जोडेको थियो।
योसँगै विराटनगरले चौथो जित निकालेको छ। अघिल्लो खेलमा पराजित भएको विराटनगरले पाँच खेल खेलिसकेको छ। यता चार खेल खेलेको कर्णाली भने तीन खेलमा पराजित भइसकेको छ।
बलिङमा कर्णालीका सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६० रन जोड्यो।
कर्णालीका लागि ओपनर प्रियांक पाञ्चालले अर्धशतक प्रहार गरे। उनले ६३ रन बनाउने क्रममा ४७ रनमा ६ चौका र २ छक्का प्रहार गरे। उनले विल बोसिस्टोसँग दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए। तर पाञ्चाल १७औं ओभरको तेस्रो बलमा रनआउट हुन पुगे। उनलाई विकेटकिपर साहिल पटेलले रनआउटको सिकार बनाएका थिए।
त्यसअघि ओपनिङमा आएका मार्क वाट तेस्रो ओभरमा ६ रनमा मर्स्याङ डि लाङको बलमा जर्ज मुन्सेबाट क्याच भएका थिए।
यस्तै गुल्सन झाले १० बलमा २ चौका र १ छक्काको मद्दतमा २० रनको योगदान गरे। अन्तिमसम्म टिकेका बोसिस्टोले नटआउट ४८ रन बनाए। उनले ४८ बलमा २ चौका प्रहार गरे। नाजिबुल्लाह जाद्रानले ६ बलमा १ छक्काको मद्दतमा १२ रन बनाए।
बलिङमा डि लाङ र कप्तान सन्दीप लामिछानेले १-१ विकेट लिए।
सिजनमा विराटनगरले लगातार तीन खेलमा जित निकाले पनि चौथो खेलमा पराजय भोगेको थियो।
कर्णालीले भने आफ्ना तीनमध्ये दुई खेलमा पराजय र एक खेलमा जित हात पारेको छ।
विराटनगरले खेलका लागि तीन खेलाडी परिवर्तन गरेको थिो। अघिल्लो खेल खेलेका सूर्य तामाङ, नरेन भट्ट र शुभम रन्जेन आजको टोलीमा थिएनन्। आज सुवास भण्डारी, साहिल पटेल र शेहान जर्यासूर्या थिए6।
यस्तै कर्णालीमा एक खेलाडी परिवर्तन थियो। अर्जुन घर्तीको स्थानमा विकेटकिपर दिपक डुम्रेले खेलेका थिए।
कर्णाली याक्स
सोमपाल कामी (कप्तान) , दिपक डुम्रे (विकेटकिपर), विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बोसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसिर अहमद, सुवास भण्डारी, साहिल पटेल (विकेटकिपर), नारायण जोशी, शेहान जर्यासूर्या, जर्ज मुन्से, साम हिजलेट, मर्स्याङ डि लाङ।