सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार दिनको दोस्रो खेलमा पराजित भएसँगै कर्णाली याक्स लिग चरणबाट बाहिरिने पहिलो टोली भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कर्णालीलाई पोखरा एभेन्जर्सले ३४ रनले पराजित गर्यो। अन्तिम खेलअघि २ अंक मात्र जोडेको कर्णालीले अन्तिम जिते पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्नेछैन।
किनकी ४-४ अंक जोडेका पोखरा र चितवन राइनोजले एक आपसमा खेल्न बाँकी छ। जसका कारण यी मध्ये एक टोलीको ६ अंक हुनेछ भने अन्तिम खेलमा जित निकाले पनि कर्णाली बाहिरिनेछ।
सुदूरपश्चिम रोयल्स १० अंक जोडेर प्लेअफ पुगिसकेको छ। दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजको ८-८ अंक छ भने उनीहरू प्लेअफ नजिक छन्।
कर्णालीले ६ खेल खेल्दा २ अंक मात्र छ। उसले १ खेल मात्र जित्दा ५ खेलमा पराजय भोग्यो।
आजको खेलमा जित निकालेको पोखराले पाँच खेलमा दोस्रो जित निकाल्यो भने ४ अंक जोड्यो। अब अन्तिम दुई खेलमा उसले जित निकाले प्लेअफ पुग्ने सम्भावना हुनेछ।
मंगलबार एडम रोसिङटनको शतकको मद्दतमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दिएको थियो। जुन लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा अलआउट भयो।
पोखराका लागि ओपनिङमा आएका मार्क वाटले ३४ बलमा ५९ रन जोडेका थिए। उनले ४ चौका र ५ छक्का प्रहार गरे। अरु ब्याटर भने चल्न सकेनन्।
उनीसँगै ओपनिङमा आएका प्रियांक पाञ्चाल १६ रन, जयकिसन कोल्सावाला ६ रन, पवन सर्राफ १९ रन, नाजिबुल्लाह जाद्रान २४ रन र गुल्सन झा ९ रनमा आउट भए। दीपेन्द्र रावत पनि १० रनमा रनआउट भए।
कप्तान सोमपाल कामी १३ रन बनाएर आउट भएसँगै कर्णालीको आशा सकियो।
बलिङमा पोखराका डेब्यू खेलाडी ऋषि धवनले ३ विकेट लिए। भारतको राष्ट्रिय टोलीसहित आइपिएल टोली पञ्जाव, कोलकता र मुम्बईबाट खेलेका धवनले ४ ओभरमा ३७ रन दिए। यस्तै धनञ्जय लक्षमले पनि ३ विकेट हात पारे। उनले ४ ओभरमा ३१ रन दिए।
टस जितेको कर्णालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले २ विकेटको क्षतिमा २०१ रन जोड्यो। जारी सिजनमा २ सय रन कटेको यो पहिलो पटक हो। यसअघि विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरूद्ध २२० रन बनाएको थियो।
३२ वर्षीय इंग्ल्यान्डका विकेटकिपर ब्याटर रोसिङटनले ५५ बलमा शतक पूरा गरेका थिए। शतक पूरा गर्न उनले ११ चौका र ६ छक्का प्रहार गरे। उनी १०८ रनमा नटआउट रहदा कुल ५८ बलमा खेलेर ११ चौका र ७ छक्का प्रहार गरे।
यो जारी सिजनको दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरूद्ध शतक प्रहार गरेका थिए। अघिल्लो संस्करणमा पोखराका लागि आन्द्रेस गौसले शतक प्रहार गरेका थिए। त्यसैले यो एनपिएलको समग्र तेस्रो शतक हो।
पोखराका कप्तान तथा ओपनर कुशल भुर्तेलले १८ रन जोडेका थिए। उनले रोसिङटनसँग ४.५ ओभरमा ३४ रनको ओपनिङ साझेदारी गरेका थिए।
भुर्तेल आउट भएपछि क्रिजमा आएका जासन रोयसँग रोसिङटनको जोडी जम्यो। दुईबीच दोस्रो विकेटका लागि १२ ओभरमा १२७ रनको साझेदारी हुँदा पोखराको बलियो स्थितिमा रह्यो।
एनपिएलमा डेब्यू गरेका रोय अर्धशतक बनाउन भने चार रनले चुके। उनले ३४ बलमा ४६ रन बनाउँदा २ चौका र ३ छक्का प्रहार गरे। उनी १७औं ओभरको पाँचौ बलमा क्याच भए। उनलाई नन्दन यादवले प्रियांक पाञ्चलबाट क्याच गराए।
अन्त्यमा धनञ्जय लक्षनले ११ बलमा नटआउट २३ रन बनाएपछि पोखराले २ सय रन कटायो।
बलिङमा कर्णालीका नन्दन यादव र मार्क वाटले १-१ विकेट लिए।
खेलका लागि कर्णाली तीन खेलाडी परिवर्तन गरेको थियो। दिपक डुम्रे, युवराज खत्री र विल बोसिस्टो टोलीमा छैनन्। आज दिपेन्द्र रावत, युनिस ठकुरी र जयकिशन कोल्सवाला खेले।
पोखरामा भने पाँच खेलाडी परिवर्तन गरिएको थियो। जिमी निशम युएईको आइएलटी-२० खेल्न फर्किए भने दिनेश खरेल, अभिषेक तिवारी, सुमित बर्मा र माट टेलर टोलीमा थिएनन्। आज आकाश चन्द, सन्दीप केसी, जासन रोय, ऋषि धवन र धनञ्जय लक्षन खेलेका थिए।
कर्णाली याक्स
सोमपाल कामी (कप्तान), दिपेन्द्र रावत, विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युनिस ठकुरी, गुल्सन झा, मार्क वाट, जयनकिश कोल्सावाल (विकेटकिपर), नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), सन्दीप केसी, किरण ठगुन्ना, सागर ढकाल, तृतराज दास, आकाश चन्द, विपिन खत्री, ऋषि धवन, एडम रोसिङटन (विकेटकिपर), धनञ्जय लक्षन्, जासन रोय।