सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १६९ रन जोड्यो।
उसका लागि ओपनिङ ब्याटर क्रिस लिनले ७५ रन जोडे। १७औं ओभरको समाप्तिमा रिटायर्ड हट भएका लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
अर्का ओपनर विनोद भण्डारी २१ रनमा आउट भए। यस्तै इशान पाण्डे र हर्मित सिंह १-१ रन बनाएर पेभिलियन फर्के।
एनपिएल डेब्यू गरेका पुनित मेहराले १३ रन बनाए। मेहरा र पाण्डेलाई चितवनका सइफ जइबले क्याच गराउँदा डेब्यू इंग्लिस बलर जर्ज स्कृमशले हर्मितलाई आउट गरे। अन्त्यमा कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट २४ रन र आरिफ शेखले १६ बलमा नटआउट २४ रन बनाए।
बलिङमा चितवनका जइबले २ विकेट लिए भने रञ्जित कुमार स्कृमशले १-१ विकेट हात पारे।
यसअघि लगातार पाँच खेल जितेर शीर्ष चार पक्का गर्दै सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ। आजको खेल जितेमा सुदूरपश्चिम शीर्ष दुईमा रहेर पहिलो क्वालिफायरमा पुग्नेछ।
पाँचमध्ये दुई खेलमा मात्र जित निकालेको चितवनका लागि भने शीर्ष चारमा परेर प्लेअफमा पुग्न आज जितको आवश्यकता छ।