सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लिग चरणका खेल सकिएका छन्।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको रोमाञ्चक जित निकालेको छ।
अन्तिम खेलमा जित निकालेसँगै ७ खेलबाट ४ अंक जोडेर कर्णाली छैटौं भएको छ।
साविक विजेता जनकपुर भने २ अंकसहित पुछार अर्थात् आठौं भयो। जनकपुरले एक खेलमा मात्र जित निकाल्न सक्यो।
अन्तिम खेलमा रोमाञ्चक जित निकाल्ने क्रममा कर्णालीले १३० रनको लक्ष्य पछ्याएको जनकपुरलाई ७ विकेटको क्षतिमा १२६ रनमै रोक्यो।
अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। जसमा कर्णालीका नन्दन यादवले पहिलो बलमा सञ्जय कृष्णमूर्तिलाई ५१ रनमा आउट गरे।
गुल्सन झाबाट क्याच हुनुअघि उनले ३९ बलमा १ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यसपछि आदित्य महताले एक रन लिए। तेस्रो बलमा कप्तान यान निकोलले २ रन र चौथो बलमा पनि २ रन लिए।
पाँचौ बलमा उनले चौका प्रहार गरेपछि अन्तिम बलमा छक्का चाहियो। तर उनले बाउन्ड्री प्रहार गर्न सकेनन् भने दुई रन लिने क्रममा रन आउट भए।
बलिङमा कर्णालीका विलियन बोसिस्टोले २ विकेट लिए। मार्क वाटले उत्कृष्ट बलिङ गर्ने क्रममा ४ ओभरमा १ मेडन राखे भने ९ रन दिएर १ विकेट लिन सफल भए।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले इमरान शेखको ३३ रन र कप्तान सोमपाल कामीको नटआउट १८ रनको मद्दतमा ९ विकेटको क्षतिमा १२९ रन जोडेको थियो। बलिङमा जनकपुरका ललित राजवंशी र आदित्य महताले २-२ विकेट लिएका थिए।
अंक तालिकामा सुदुरपश्चिम रोयल्स ७ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेर शीर्ष बन्यो। दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजले ५-५ जित निकाल्दै १० अंक जोडे। रनरेटमा भने विराटनगर अघि रह्यो। चौथो बनेको लुम्बिनीले ४ जित र ३ हार ब्यहोर्यो भने ८ अंक जोड्यो। यी चार टोली प्लेअफमा पुगे। अंक तालिकामा पोखरा एभेन्जर्स पाँचौ भयो। उसले ६ अंक जोड्यो। कर्णाली ४ अंकसहित छैटौं, चितवन राइनोज पनि ४ अंकसहित सातौं र जनकपुर बोल्ट्स २ अंकसहित आठौं भए।
प्लेअफमा सुदूरपश्चिम र विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ। यो खेलको विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले बिहिबार हुने दोस्रो क्वालिफायरमा मौका पाउनेछ।
बुधबार काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ। जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेता पनि शनिबार हुने फाइनलमा पुग्नेछ।