सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी दोस्रो क्वालिफायरको खेलमा टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनायो।
लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४५ रन र कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरे।
ओपनर दिनेश अधिकारी १ रनमा आउट भएपछि शर्ट र रोहितबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भएको थियो। रोहित १२औं ओभरमा विराटनगरका सुवास भण्डारीबाट बोल्ड भएका थिए। त्यसपछि लुम्बिनीले लगातार विकेट गुमाएको थियो।
शर्टले ४५ रन जोड्ने क्रममा ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। १४औं ओभरमा डार्शीसहित रोहित र दिनेश गरी शीर्ष तीन ब्याटरको विकेट विराटनगरका सुवास भण्डारीले लिए।
लुम्बिनीका सन्दीप जोरा र जेजे स्मिट डक आउट भए। जोरालाई कप्तान सन्दीप र स्मितलाई प्रतिश जिसीले क्याच गराए।
त्यसपछि दिलिप नाथ १ रनमा आउट भए भने निशोसन डिक्वेलाले २९ रन जोड्न सके। सन्दीपबाट १८औं ओभरको पाँचौ बलमा क्याच भएका डिक्वेलाले २२ बलमा ४ चौका प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा शेर मल्ललाई ७ रनमा प्रतिश जिसीले क्याच गराए। रुबेल ट्रम्पलम्यानले नटआउट ११ रन जोडे।
बलिङमा विराटनगरका सुवास भण्डारीले ३ विकेट लिँदा ४ ओभरमा १४ रन मात्र दिए। प्रतिश जिसीको नाममा पनि ३ विकेट रह्यो। उनले ४ ओभरमा २७ खर्चिए।कप्तान सन्दीप लामिछानेले २ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए।
खेलका लागि विराटनगरमा दुई परिवर्तन गरिएको छ। नारायण जोशी र सूर्य तामाङको स्थान सुवास भण्डारी र शंकर रानाले खेल्दैछन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।
लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।
आज विजयी हुने टोली फाइनलमा पुग्नेछ। विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ। सुदूरपश्चिम पहिलो संस्करणको एनपिएलको उपविजेता हो। फाइनल खेल मंसिर २७ गते शनिबार हुनेछ।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी, शंकर राना, नरेन भट्ट, फाप डु प्लेसिस, मार्टिन गप्टिल, साम हिजलेट, मर्स्याङ डि लाङ।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेज स्मित, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।