लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले गत सिजन जनकपुर बोल्ट्सका लागि उपाधि जितेका थिए।
यो सिजनका लागि जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र शेरलाई लुम्बिनीयले भित्र्याएका थिए।
यो सिजन लुम्बिनी आएसँगै शेरले दोस्रो उपाधि जित्न सफल भए। शनिबार उपाधि भिडन्तमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदुरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेसँगै मल्लले दोस्रो सिजन उपाधि जित्न सफल भएका हुन्।
मल्लले यो सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। उनले १० खेलमा १७ विकेट लिए।
फाइनलमा ३ विकेट लिएका मल्ल सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप लामिछानेसँगै शीर्ष स्थानमा रहन सफल भए।
उनलाई भारतीय कमेन्टेटर आकाश चोपडाले आइपिएल खेल्न सक्ने बलरको रूपमा चित्रित गरेका थिए। यस्तै काठमान्डु गोर्खाज तथा नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाइले पनि उनको प्रशंसा गरेका थिए।
२३ वर्षीय मल्ल कलैलीका बलर हुन्। उनले नेपालको ए राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्छन्।