इमानदार भएर भन्नुपर्दा, यो एक सपना साकार भएजस्तो महसुस भइरहेको छ । हामी जुन परिस्थितिमा थियौँ—चार खेलपछि एउटा जित र हारको अवस्थाबाट यहाँसम्म पुग्नु एकदमै ठूलो उपलब्धि हो जस्तो लाग्छ।
नेपाल प्रिमियर लिग एनपीएल जित्नु ठूलो उपलब्धि हो। त्यसैले यो लुम्बिनी लायन्सका लागि ठूलो उपलब्धि हो र आज यो टिमको सामूहिक प्रयास हो।
सुदूरपश्चिम रोयल्सलाई ८५ रनमा अल आउट गर्छौँ भनेर त्यति अपेक्षा गर्न सकिन्न। विशेषगरी उहाँहरूले प्रतियोगिताभरि जुन हिसाबले क्रिकेट खेलिरहनुभएको थियो। अपेक्षा त्यति थिएन, तर पनि हामीले सोचेका थियौँ कि यदि १४०-१५० रनभित्र रोक्न सकियो भने खेल जित्ने हाम्रो राम्रो मौका हुनेछ। हामी त्यो चाहिँ सोचिरहेका थियौँ। रुबेलले सुरुमा बलिङ गरेपछि शेर मल्ल र हामी सबै जनाले एकदम राम्रो बलिङ गर्यौँ जस्तो लाग्छ। तिलक भण्डारी र अभिशेष गौतमले प्रतियोगिताभरि नै राम्रो बलिङ गरिरहेका छन्। त्यसैले मलाई लाग्छ, आज सामूहिक बलिङ युनिट एकदम राम्रो थियो र सबै कुरा मिलेर आयो ।
मैले ह्याट्रिक गरेपछि कारण उहाँहरूलाई अलि बढी दबाब महसुस भयो जस्तो लाग्छ। किनभने मुख्य ब्याट्सम्यानहरू ठीक त्यही बेला मध्यक्रमबाट ढले जस्तो लाग्यो। मैले ह्याट्रिक हुन्छ भनेर सोचेको थिइनँ, न त सपनामा नै म ह्याट्रिक लिन सक्छु भनेर सोच्न सक्थे। तर आज मेरो लागि सबै कुरा भयो, त्यसैले एकदमै खुसी छु।
आज मेरो दिन राम्रो छ जस्तो लाग्छ। प्रतियोगिताभरि राम्रो प्रदर्शन भएको थियो, गत वर्ष पनि राम्रो भएको थियो, तर टिमका रूपमा हामीले त्यो हिसाबले गर्न सकेनौँ। यो पटक चाहिँ हामी टिमका रूपमा पनि एकदम राम्रो खेल्यौँ।
विशेषगरी, हाम्रा विदेशी खेलाडीहरू— डार्सी शर्टले एकदम राम्रो खेले। रुबेल ट्रम्पलम्यान र जेजेस स्मिथले पनि राम्रो गरे।
निरोशन डिक्वेला आएदेखि हामी जितिरहेका छौँ। त्यसपछि, नेपाली खेलाडीहरूले पनि एकदम राम्रो बलिङ गरे। विशेषगरी, तीन स्पिनरहरू— शेर, तिलक, अभिषेक; त्यसपछि सन्दी जोरा, दिलीप नाथ दाइ सबैले योगदान गरिरहेका थिए। आज दिनेश अधिकारीले पनि एकदमै राम्रो खेले। त्यसैले यो समग्रमा टिमको प्रयास हो।
इमानदारीपूर्वक भन्नुपर्दा, मैले कार सोचेको थिइनँ। मेरो दिमागमा कसरी ट्रफी जित्ने भन्ने थियो। त्यो प्रक्रियामा मैले राम्रो खेल्दै जाँदा कार पनि पछाडि आयो, तर मुख्य लक्ष्य ट्रफी जित्नु थियो र त्यो हासिल गर्नुपर्ने थियो]।
म अझै सन्तुष्ट भएको छैन । किनभने यो प्रतियोगितामा मैले अहिलेसम्म एउटा पनि अर्धशतक बनाएको छैन। तर टिमले जित्यो, टिम जितेपछि मलाई पुग्छ जस्तो लाग्छ । यद्यपि, एक व्यक्ति (खेलाडी) का रूपमा भने सुधार गर्नुपर्ने छ, त्यो म गर्नेछु। टिम जित्दा खेरि म एकदमै खुसी छु।
जो-जो खेलाडीले राम्रो गर्नुभएको छ, विशेषगरी शेरले जुन हिसाबले बलिङ गरेका छन् , र अरू खेलाडीहरूले पनि जुन हिसाबले आ-आफ्नो टिपका लागि खेलिरहनुभएको छ, उहाँहरूले पनि विश्वकपको लागि मौका पाउनुहुन्छ जस्तो लाग्छ। विश्वकपको लागि भन्न मिल्दैन, तर उहाँहरू टप १५ मा चाहिँ हुनुहुन्छ। त्यसपछि हेरौँ के हुन्छ। तर यो प्रदर्शनले एनपीएलमा निश्चित रूपमा महत्त्व राख्छ।
त्यो एकदमै भावनात्मक क्षण थियो । किनभने आमाबुबा, दाइ-भाउजू, दिदी-भिनाजु सबै जना आउनुभएको छ। कार जित्दा खेरि अब गाडीमा आमाबुबा हुनुपर्छ जस्तो लाग्छ मलाई, किनभने उहाँहरूले गर्दा म यहाँसम्म पुगेको छु। त्यसैले यो क्षणमा उहाँहरूलाई सँगै बसाएर लिएर जाने मन थियो मेरो । यो त सपना साकार भएजस्तै हो। ट्रफी जित्यौँ, कार जित्यौँ, बाइक जित्यौँ, सबै कुरा जित्दा खेरि आजको दिन एकदमै राम्रो थियो।हाम्रो टिमलाई विश्वास थियो कि हामी जित्छौँ। किनभने लिगका अन्तिम तीन खेल सबै जित्नुपर्ने थियो, र हरेक एक जनामा हामी जित्छौँ भन्ने विश्वास थियो।
अब मैले एकचोटि गएर सामाजिक सञ्जालमा हेर्नुपर्छ है, मैले के के गरेँ भनेर। कफी खान जानै पर्यो, त्यो हाम्रो लागि अनिवार्य थियो। सामाजिक सञ्जालमा के भइरहेको छ, त्यो मेरो नियन्त्रणमा छैन। मेरो दिमागमा टिमलाई कसरी जिताउने भन्ने मात्र चलिरहेको हुन्छ। सामाजिक सञ्जालमा वा अरूले के भनिरहेका छन्, मलाई फरक पर्दैन। मेरो लक्ष्य भनेको मेरो टिमले मसँग के माग गरेको छ, त्यो पूरा गर्नु हो। मेरो लागि त्यही एकदम महत्त्वपूर्ण हो र म त्यही हिसाबले टिमको लागि खेल्छु, त्यो बाहेक अरू केही सोच्दिन। सुमन कार्कीले बनाएको भिडियोको यो प्रतियोगितामा कुनै प्रभाव छैन। उहाँहरूले र मैले रमाइलोको लागि बनाएका थियौँ। त्यो बाहेक मेरो लक्ष्य टिमलाई जिताउनु थियो।
शेर मल्लको प्रदर्शन उच्च कोटिको थियो। किनभने लुम्बिनी लायन्सलाई जतिबेला विकेट चाहिएको थियो, त्यतिबेला शेर मल्लले विकेट दिलाएका छन्। र महत्त्वपूर्ण परिस्थितिमा मुख्य विकेटहरू लिएका छन्। त्यसैले मलाई लाग्छ, लुम्बिनी लायन्सको मुख्य खेलाडी शेर मल्ल नै हुन्।
- लुम्बिनी लायन्सलाई दोस्रो सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उपाधि जिताएपछि कप्तान रोहितकुमार पौडेलले दिएको प्रतिक्रिया।