नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लगातार चार खेल हार्दै संकटमा परेको पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ। क्यानडाका युवा ब्याटर युवराज सिंह सम्राको विस्फोटक शतकसँगै पोखरा विशाल योगफलतर्फ अघि बढेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराका लागि ओपनर सम्राले आक्रामक ब्याटिङ गर्दै मात्र ४५ बलमा शतक पूरा गरे। उनले १० चौका र ६ छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरेका हुन्।
सम्रा जारी एनपीएलमा शतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। उनले शतक पूरा गर्दा पोखराले १५ ओभरमा एक विकेट गुमाएर १६१ रन बनाएको थियो। उनी ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ र बनाएर आउट भए।

२० वर्षीय सम्रा पोखराले प्रतियोगिताको बाँकी खेलका लागि अनुबन्ध गरेका क्यानडाका ब्याटर हुन्। उनले गत टी–२० विश्वकपमा पनि न्युजिल्यान्डविरुद्ध शतक प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चा कमाएका थिए।
गत टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध ६५ बलमा ११० रन बनाएका सम्रा पुरुष टी–२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट राष्ट्रका ब्याटर बनेका थिए। त्यतिबेला उनी विश्वकप इतिहासमा शतक बनाउने कान्छा खेलाडीसमेत बनेका थिए।
बायाँ हाते ब्याटर सम्रा आक्रामक शैलीका लागि परिचित छन्। उनको पूरा नाम युवराज सिंह सम्रा हो। उनका पिता बलजित सम्राले भारतीय क्रिकेटका पूर्वस्टार युवराज सिंहबाट प्रभावित भएर छोराको नाम युवराज राखेका हुन्।
सम्राको क्रिकेट यात्रामा परिवारको ठूलो योगदान छ। क्रिकेटमा पर्याप्त समय दिन सकून् भनेर उनलाई कक्षा ११ र १२ मा होम स्कुलिङको व्यवस्था गरिएको थियो। छोराको क्रिकेट करियरलाई साथ दिन उनकी आमाले आफ्नो जागिरसमेत छाडेकी थिइन्।
सम्राको सपना विश्वका प्रतिष्ठित टी–२० लिग खेल्ने र विशेषगरी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सबाट खेल्ने रहेको छ।
लगातार चार खेलमा पराजित पोखराका लागि सम्राको शतक प्रतियोगितामा फर्कने महत्वपूर्ण अवसर बनेको छ। अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको पोखराले कर्णालीविरुद्ध पहिलो जितको खोजी गरिरहेको छ।