क्यानडाका युवा ब्याटर युवराज सिंह सम्राको विस्फोटक शतक र कुशल भुर्तेलको अर्धशतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। यो एनपिएल इतिहासकै दोस्रो ठूलो योगफल हो। यसअघि सन् २०२५ मा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो।
पोखराको विशाल योगफलमा ओपनर सम्राले सानदार शतकीय इनिङ्स खेले। उनले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतले १०२ रन बनाए। जारी सिजनमा शतक प्रहार गर्ने उनी पहिलो ब्याटर बनेका छन्। उनले ४५ बलमै शतक पूरा गरेका थिए।
सम्राले कप्तान भुर्तेलसँग दोस्रो विकेटका लागि १३६ रनको महत्वपूर्ण साझेदारी गरे। भुर्तेलले ३९ बलमा सात छक्काको मद्दतले ६२ रन बनाए। उनी १७.५ ओभरमा सोमपाल कामीको बलमा आउट भए।
यसअघि पोखराले २७ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। ओपनर मेहेदी हसन १६ बलमा पाँच रन बनाएर चौथो ओभरमा आउट भए। उनलाई सोमपाल कामीले दीपक डुम्रेको हातबाट क्याच गराएका थिए।
सम्रा र भुर्तेलको साझेदारीले पोखरालाई बलियो अवस्थामा पुर्यायो। १५.५ ओभरमा सम्रा आउट हुँदा पोखराको स्कोर १६३ रन पुगेको थियो। उनलाई मार्क वाटले अरिफुल इस्लामको हातबाट क्याच गराए।
त्यसपछि पनि पोखराको आक्रामक ब्याटिङ रोकिएन। चमिका करुणारत्नेले अन्तिम ओभरहरूमा विस्फोटक ब्याटिङ गरे। उनले केवल ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन बनाए। सन्नी बिक तीन रनमा अविजित रहे।
कर्णालीका सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। मार्क वाटले एक विकेट हात पारे।
लगातार चार खेलमा पराजित पोखराका लागि यो इनिङ्स निकै महत्वपूर्ण बनेको छ। अंक तालिकाको पुछारमा रहेको पोखराले सम्रा र भुर्तेलको उत्कृष्ट ब्याटिङमा प्रतियोगिताकै अहिलेसम्मको आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छ। अब कर्णालीले जितका लागि २१८ रन बनाउनुपर्नेछ।