नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी अनौठो तरिकाले आउट भए। उनी ‘अबस्ट्रक्टिङ द फिल्ड’ नियमअनुसार आउट भएका हुन्।
एनपिएल इतिहासमै पहिलोपटक कुनै खेलाडी यस नियमअनुसार आउट भएका हुन्। कर्णालीको इनिङ्सको १५औँ ओभरको अन्तिम बलमा सोमपालको विकेट गएको थियो।
पोखराका बलर विपिन खत्रीले गरेको उक्त ओभरको अन्तिम बलमा सोमपाल ठूलो सट प्रहार गर्न चाहन्थे। तर बल उनको ब्याटमा लागेर नजिकै खस्यो र उफ्रियो। त्यसपछि सोमपालले फेरि ब्याटले बल प्रहार गरे।
सोमपालले दोस्रोपटक बल हानेपछि पोखराका खेलाडीले आउटको अपिल गरे। त्यसपछि थर्ड अम्पायरको सहयोग लिइएको थियो। भिडियो रिप्ले हेरेपछि अम्पायरले सोमपाललाई ‘अबस्ट्रक्टिङ द फिल्ड’ नियमअनुसार आउट दिए।
सोमपालले १९ बलमा एक चौकासहित २१ रन बनाएका थिए। उनी आउट हुँदा कर्णाली १४.६ ओभरमा १३० रनको अवस्थामा थियो। सातौँ विकेटका रूपमा सोमपाल आउट भएपछि कर्णालीको जितको सम्भावना थप कमजोर बनेको थियो।
के हो ‘अबस्ट्रक्टिङ द फिल्ड’?
क्रिकेटको नियम ३७ अनुसार ब्याटरले बल खेलिरहेको अवस्थामा जानाजानी आफ्नो बोली वा व्यवहारबाट विपक्षी टोलीलाई बल रोक्न, फिल्डिङ गर्न वा विकेट लिन अवरोध पुर्याउने प्रयास गरेमा उनलाई ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट दिन सकिन्छ।
यस नियमअन्तर्गत ब्याटरले बलको सामना गर्ने क्रममा ब्याट नसमातेको हातले जानाजानी बल रोक्नु वा विकेट बचाउने क्रममा बललाई एकभन्दा बढीपटक प्रहार गर्नु पनि निश्चित परिस्थितिमा आउट हुने आधार बन्न सक्छ।
त्यस्तै, बल खेल्ने क्रममा जानाजानी ब्याट फालेर बलमा प्रभाव पार्न वा विकेट लिनबाट रोक्ने प्रयास गरेमा पनि ब्याटर आउट हुन सक्छन्।
तर बललाई दोस्रोपटक छोएकै कारण हरेक अवस्थामा ब्याटर आउट हुँदैनन्। विकेट जोगाउने उद्देश्यले बललाई दोस्रोपटक प्रहार गर्नु र विपक्षी टोलीको फिल्डिङमा अवरोध पुर्याउने नियतले त्यसो गर्नु फरक कुरा हो। त्यसैले घटनाको परिस्थिति र खेलाडीको नियत महत्वपूर्ण हुन्छ।
सोमपालको घटनामा बल ब्याटमा लागेर उफ्रिएपछि उनले पुनः ब्याटले प्रहार गरेका थिए। पोखराको अपिलपछि तेस्रो अम्पायरले घटनाको समीक्षा गरेर उनलाई आउट दिएका थिए।
यसरी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ नियमको सिकार बनेपछि सोमपालको विकेट खेलको चर्चित घटनामध्ये एक बन्यो।