प्रधानमन्त्री बालने शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिने घोषणा गरेका छन्। त्यसका लागि सहभागी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने उनले बताएका छन्।
एनपिएलको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्रीले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका हुन्।
उनका अनुसार क्लबका लागि आवश्यक क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ।
प्रस्तावित योजनाअनुसार आठवटै फ्रेन्चाइज क्लबका लागि छुट्टाछुट्टै रंगशाला निर्माण गरिनेछ। विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ।
त्यस्तै, काठमाडौं गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ।
सरकारको यो योजनाले एनपिएललाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहरमा विस्तार गर्ने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। योजना कार्यान्वयन भए छैटौँ संस्करणदेखि एनपिएलका खेल क्लबका आफ्नै घरेलु मैदानमा आयोजना हुनेछन्।