नेपाल कारते महासंघले बेलायतको सामाजिक संस्था तमुधीं युकेलाई सम्मान गरेको छ। मंगलबार नेपाल कराते महासंघमा आयोजित कार्यक्रममा तमुधीं युकेलाई विशेष कदरपत्रसहित सम्मान गरिएको हो।
महासंघले नेपाली खेलकुदको विकास र प्रदर्द्धनमा योगन दिएको भन्दै तमुधीं युकेलाई सम्मान गरिएको हो।
महासंघका महासचिव दावा लामाले तमुधीँ युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा विशाल गुरुङलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन्।
गत महिना टर्कीमा सम्पन्न विश्व कराते वान प्रिमियर लिग प्रतियोगितामा रजत पदक जितेकी एरिका गुरुङ, यूकेमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी प्रज्योसन यामातो श्रेष्ठ र नेली जोशी तथा प्रशिक्षक कुशल श्रेष्ठ र तारा गुरुङ लाई उक्त संस्थाद्वारा यूकेमा विशेष सम्मान कार्यक्रम आयोजना गरेकोमा नेपाल कराते महासंघले धन्यवाद दिएको छ।
महासंघको भनाइ छ, ‘राष्ट्रको गौरव बढाउने कार्यहरूको उच्च मूल्याङ्कन गर्दै नेपाल कराते महासंघ सम्मान व्यक्त गर्दछ। भविष्यमा पनि नेपाली खेलकूदप्रति निरन्तर माया, साथ तथा सहयोगको अपेक्षा व्यक्त गर्दछौं।’
बेलायतमा रहेको तमु धी युकेले नेपाली खेलकुद र अन्य परोपकारका काम गर्दै आएको छ।



