स्युचाटार तेक्वान्दो डोजाङकाद्वय मिलन विष्ट, रोशनी शाह र आयोजक सीतापाइला तेक्वान्दो डोजाङ ‘ए’ का मोहम्मद सामीले प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । सिनियर एकल पुम्सेको पुरुषमा मिलन तथा महिलामा रोशनी पहिलो भएका हुन् । सामीले क्याडेट पुरुष ४१ केजीमुनि सफलता पाए ।
नागार्जुन नगरपालिका–४ स्थित खोपाटोलमा भइरहेको प्रतियोगितामा मिलनले निर्मल तेक्वान्दो डोजाङका शुभम् घर्ती मगर तथा रोशनीले स्वयम्भू तेक्वान्दो डोजाङकी अन्जना वाइबालाई पराजित गरे । सामीले जुपिटर बोर्डिङ हाइ स्कुलका रौनक कामतलाई हराए ।
सिनियर पुरुष ५४ केजीमुनि शुभम्जंग कुँवरले ढल्को तेक्वान्दो डोजाङका पेम्बा तामाङ तथा ५८ केजीमुनि एलन आले मगरले स्युचाटारका रामेश्वर बुढाथोकीलाई हराउदै स्वर्ण हात पारे । विजेताद्वय गोर्खाली तेक्वान्दो डोजाङका हुन् ।
नागार्जुन नगरपालिको सहयोगमा आयोजित प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनि ढल्को तेक्वान्दो डोजाङकी दीक्षा तामाङले द नेक्स्ट लेभल तेक्वान्दोकी सिमा जर्घा मगर तथा ४९ केजीमुनि लायन मार्सल आर्ट्स तेक्वान्दोकी सोनिया तामाङले ढल्कोकी पासाङ लामालाई हराउदै पहिलो भए ।
क्याडेट एकल पुम्सेको पुरुषमा जैशीदेवलका प्रसाङ शाक्यले स्युचाटारका रिवाज डंगोल तथा महिलामा जैशीदेवलकी मुविक्षा गजुरेलले स्युचाटारकी सिमरन गुरुङलाई पाखा लगाउदै स्वर्ण जिते । जुनियर एकल पुम्सेको पुरुषमा जैशीदेवलका रोजेन प्रजापतिले स्युचारटारका सजल बाँस्कोटा तथा महिलामा स्युचाटारकी सुभश्री श्रेष्ठले स्यवम्भूकी पूजा तामाङलाई पन्छ्याउदै पहिलो भए ।
चिल्ड्रेनतर्फ पुरुष २३ केजीमुनि ढल्कोका गंगा परियार तथा २६ केजीमुनि लायन मार्सल आर्ट्सका सनिशसेन ठकुरी पहिलो बने । गंगाले सीताइपाइला ‘ए’ वीरेन्द्र हुमागाईं तथा सनिशले सीताइपाइला ‘ए’ कै लक्बी थापा मगरलाई पराजित गरे।
चिल्ड्रेनतर्फ नै पुरुष २९ केजीमुनि ढल्कोका ग्याल्जेन तामाङले विष्णुदेवी तेक्वान्दो डोजाङका रिजन तामाङ, ३३ केजीमुनि ढल्कोका नवराज परियारले लायनका ओस्कर तामाङ र ३७ केजीमुनि स्वयम्भूका प्रज्ज्वल पौडेलले लायनका प्रभाकर महरलाई हराउदै शीर्ष स्थान हात पारे ।
प्रतियोगिताको नागर्जुन नगरपालिककी उप मेयर सुशीला अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुमार लामा घिसिङलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले जानकारी दिए । हरेक स्पर्धाका स्वर्ण विजेतालाई बाफलस्थित हृदय निकेतनले प्लस टु अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गर्ने छ ।
उद्घाटनका अवसरमा खेलाडी सुभाङ्गी श्रेष्ठलाई २० हजार तथा दिलिका भ्लोनलाई १० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । खेल पत्रकारद्वय राष्ट्रिय दैनिक गोरखापत्रका प्रजित शाक्य र अन्नपूर्ण पोष्टका विष्णु थापा पनि सम्मानित भए ।
दुई दिने प्रतियोगितामा विभिन्न स्कुल तथा डोजाङका करिब ६ सय खेलाडीले ग्योरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियर विधामा २८ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।