नेपाल ब्याडमिन्टन संघको १३औँ कार्यसमिति बैठकले महत्वपूर्ण सांगठनिक निर्णयहरू गरेको छ।
बैठकले संघको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीसहित सचिव बेनुप राज खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ।
संघले ‘४२औँ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८३’ को मिति र स्थान पनि तय गरेको छ। प्रतियोगिता २०८३ बैशाख २९ देखि जेठ ३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहल, त्रिपुरेश्वर, काठमाडौँमा आयोजना हुनेछ।
बैठकले प्रतियोगिता व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरेको छ। उपसमितिहरूले तयारी, समन्वय र सञ्चालन कार्यलाई व्यवस्थित गर्नेछन्।
प्रतियोगितामा सातै प्रदेशका टोलीका साथै नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टोलीको सहभागिता रहनेछ।
नवनियुक्त प्रवक्ता खत्रीले प्रतियोगिता उच्च स्तरमा सम्पन्न गर्न तयारी सुरु भइसकेको जानकारी दिएका छन्। यस प्रतियोगिताले प्रतिभावान खेलाडीको पहिचान र विकासमा योगदान पुग्ने विश्वास संघले व्यक्त गरेको छ।