नेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कास्य पदक जितेकी छन्।
मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन्।
पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसंग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।
के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसंग चुके ।
अब अमिर र रेणु उलानबटारमै मंगलबारदेखि हुने आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुने छन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने छन् ।
पलेशा भने छनोट प्रतियोगतामा सहभागी हुने छैनन् । पलेशा विश्व र् किङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छानेट भइसकेकी छन् ।