मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आउँदै छिन्। उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी हुने मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ।
मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो।
हिडन ट्रेजरले आफ्नो २५औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो। जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ।
उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जारी गरेको विज्ञप्तिमा छ। उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन्।
यो भ्रमणमा मिस वर्ल्ड संस्थाको टोलीले नेपालमा मिस वर्ल्ड कार्यक्रम आयोजना गर्ने सम्भावनाहरू पनि हेर्ने हिडन ट्रेजरले जनाएको छ।