'के माया लाग्छ र' गीतबाट चर्चा कमाएका संगीतकार अंकितबाबु अधिकारीले आफ्नै स्वरको नयाँ गीत सार्वजनिक गरेका छन्।
'याक्थुम्बा कान्छी' बोलको यो गीतमा अंकितसँगै सुनिता थेगिमको स्वर छ। अंकितकै संगीतमा बनेको यो गीतको शब्द भने 'के माया लाग्छ है' र 'तीनपाते' जस्ता चर्चित गीतका भिडियो निर्देशक नवीन चौहानले लेखेका हुन्।
गीतले लिम्बू केटी र ब्रfह्यण केटा बीचको रमाइलो कथा भन्छ। गीतको भावअनुसार नै लिम्बू लोकसंगीतलाई आधार बनाएर गीतको मेलोडी बनाएको गायक तथा संगीतकार अंकित बताउँछन्। गीतकै भाव अनुसार गायक ब्राह्मण र गायिका लिम्बू छन्।
पूर्वी पहाडको अन्तर्सांस्कृतिक प्रेम कथा भन्ने यो गीत गीतकार नवीनको आफ्नै भोगाइसँग नजिक रहेको बताउँछन्। गीतको भिडियोमा प्रिया लिम्बूले याक्थुङ्मा कान्छी र मिलन खत्रीले पिनिबा कान्छाको भूमिका निर्वाह गरेका छन्। गीतको भिडियोमा पनि पात्र चयन गर्दा पनि जातीय अन्तरलाई ख्याल राखिएको छ।
विवेक रसाइलीको अवधारणा र निर्देशनमा बनेको यो गीत आर्टमान्डुले निर्माण गरेको हो। 'के माया लाग्छ र' 'तीनपातेपछि' आर्टमान्डुको यो गीतले पनि दर्शकको मन जित्ने सम्भावना बोकेको छ।