सौरभ राईको निर्देशनमा बन्ने फिल्म ‘गुराँस’ले नेदरल्यान्डको 'स्क्रिप्ट डेभलपमेन्ट फन्ड' जितेको छ। नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको 'हुबर्ट बल्स फन्ड' प्राप्त गरेको हो। नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो।
आइसफल प्रमुख रामकृष्ण पोखरेलले सेतोपाटीलाई फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको जानकारी दिए। हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तान लगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो।
पोखरेलका अनुसार कालिम्पोङ मुल थलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो। यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो। विश्वका थुप्रै फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मको वर्ल्ड प्रिमियर भने नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा भएको थियो। त्योभन्दा अघि उनले बनाएको सर्ट फिल्म ‘गुँड’ कानको सिने फाउन्डेसनमा छनोट भएको थियो।
निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि फिल्ममा काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए। ‘सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवाको फिल्म बजारमा भएको थियो। बीचमा उनले फिल्मको आइडिया सुनाए र मन परेपछि ल मिलेर गरौँ भनेर हामीबीच सहमति थियो। सोही अनुसार काम भइरहेको छ,’ पोखरेलले भने, ‘यो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं। अर्को वर्ष फ्लोरमा जाने सोचमा छौँ।’
फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ। यो बाहेक संजय गुलाटी पनि यो फिल्मको निर्माणमा साझेदार रहनेछन्। आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ। सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो।
वेबसाइटको लिंक-
https://iffr.com/en/hbf-support-spring-2021?fbclid=IwAR2KGbvPm4xLoq_iklZR-kdooVMXFF0twBXNg3um0EMWOfOoMzCKJtM6VZo