फिल्म 'झरीपछिको इन्द्रेणी' को शीर्षगीत 'आम नेपाली बुवा' युट्युबमा सार्वजनिक गरिएको छ।
आइतबार बेलुका सार्वजनिक यो ओएसटी ट्रयाकमा काठमाडौं महानगरपालिका मेयर तथा र्यापर बालेन शाहको र्याप छ।
बालेनले हालै दिवंगत आफ्ना बुवा डा. रामनारायण शाहप्रति गीत समर्पित गरेका छन्।
यो गीतको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता 'कुन मन्दिरमा जान्छौ यात्री' समावेश गरिएको छ। जसको मूल स्वर रविन शर्मा र संगीत रञ्जित गजमेरको हो।
'आम नेपाली बुवा' मा र्याप गायन र त्यसको शब्द बालेनको छ। कोरस गायन दीक्षा उप्रेतीको छ। आम बुवाको संघर्ष, भावना र जिम्मेवारीलाई गीतले प्रस्तुत गर्छ। भावनात्मक शब्द रहेको गीतले सामाजिक सन्देश समेत बोकेको छ। यसको भिडिओमा फिल्मका दृश्यहरूलाई समेटिएको छ।
अर्जुन घिमिरे 'पाँडे' निर्देशित 'झरीपछिको इन्द्रेणी' पुस ४ गतेदेखि प्रदर्शन तयारीमा छ।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारहरूले अभिनय गरेका छन्।
फिल्मको यसअघि ट्रेलर र ‘फसायो लमीले’ बोलको गीत सार्वजनिक भइसकेको छ।