सामाजिक सञ्जालको माध्यमबाट दर्शकमाझ चर्चित सिक्किमका पदम तामाङले 'होस्टेल ३' बाट नेपाली फिल्ममा डेब्यु गरे।
उनको पहिलो फिल्मले राम्रो व्यापार गर्यो। पदमको अभिनयको समेत चर्चा भयो। यद्यपि, उनलाई 'होस्टेल ३' अघि पनि नेपाली फिल्मबाट अफर पुगेको थियो।
पदमका अनुसार उनलाई अहिले प्रदर्शनरत सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म 'भाइरल गोर्खे' बाट पनि अफर पुगेको थियो। तर सुरूमा उनी फिल्म अभिनयका लागि मानसिक रूपमा तयार थिएनन्।
सेतोपाटीसँगको कुराकानीमा पदमले भने, 'न मैले अभिनयको तालिम लिएको थिएँ। न त एकैचोटि सौगात मल्लजस्तो दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्ने आँट थियो। उहाँसँग काम गर्ने इच्छा कसलाई हुँदैन होला। त्यो मेरो लागि ठूलो अवसर थियो। तर त्यसबेला आँट गर्न सकिनँ।'
उनले सिक्किममै बनेको फिल्म 'लिपस्टिक गोलाइ' मा काम गरे। त्यसले फिल्मबारे धेरै कुरा बुझ्न सहयोग पुगेको पदम बताउँछन्। त्यसपछि 'होस्टेल ३' बाट डेब्यु गरेका पदमको दोस्रो फिल्म 'गोबर गणेश' यतिबेला सिनेमा हलहरुमा प्रदर्शनमा छ।
योभन्दा अघि उनलाई भुवन केसी र अनमोल केसीको फिल्म 'बाटुलो जुन' बाट पनि प्रस्ताव आएको रहेछ। त्यसबारे पदम भन्छन् 'उहाँहरूसँग काम गर्ने मौका जुरेको थियो। क्यारेक्टर पनि एकदमै राम्रो थियो। तर त्यसबेला मेरो छोरीको स्कुल सम्बन्धी डकुमेन्टेसनको काम चलिरहेको थियो। त्यससँगै मेरो बेव सिरिजको काम पनि गर्नुपर्ने थियो। सिरिजका लागि नेपालबाट टोली सिक्किम पुगिसकेको थियो। यता भुवन दाइले तीन दिन भित्रमा सेटमा जानुपर्ने भन्नुभयो। समय व्यवस्थापन नमिल्दा उक्त फिल्ममा जोडिन पाइनँ।'
बिहीबारदेखि प्रदर्शनमा आएको 'गोबर गणेश' मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले निर्देशन गरेका हुन्। यसमा आफूले गुरूङ क्यारेक्टर निर्वाह गरेको पदमले बताए।
'लुक्समा अलिकति मेहनत गरेँ। कहिल्यै कपाल नपाल्ने म, यसमा पालेँ। कलिलो देखिनका लागि म भात खान कम गरेँ', पदमले भने, 'अब मेहनत दर्शकमाझ आइसकेको छ। रूचाउनुहुन्छ भन्ने विश्वास छ।'
यो पनिः कुनैबेला सिक्किममा मजदुरी गर्ने पदम भन्छन्– दर्शकले माया नगरेको भए यहाँ हुने थिइनँ