सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत अभिनीत फिल्म 'परालको आगो' प्रदर्शनमा आएको छ। फिल्म फ्राइडे रिलिजको अवसर पारेर आजदेखि प्रदर्शनमा आएको हो।
निर्माणपक्षका अनुसार फिल्मले देशभर गरेर डेढ सयभन्दा बढी शो पाएको छ। निर्माता सुशील पोखरेलले बिहानैदेखिका शोमा देशभरका सिनेमा भवनमा राम्रो अकुपेन्सी रहेको बताए। दिउँसो र बेलुकाका शोमा दर्शकको चाप बढ्ने टिमको विश्वास छ।
निर्माण टिम पनि शुक्रबार बिहानैदेखि विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेको छ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म गुरूप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित छ। १३५ मिनेट रनटाइमको फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ।
फिल्ममा सौगात, सुहाना र प्रकाशसहित सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बानियाँलगायत कलाकारहरूको अभिनय छ।
हरिओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्।
यस फिल्मको नेपालभर वितरण आरआर फिल्म्सले गरेको हो।
यो पनिः 'गौंथली' बनेकी सुहाना भन्छिन्– मेरो अभिनयको दोस्रो अध्याय सुरू भयो!