अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म 'मास्टर्नी' को टिजर सार्वजनिक भएको छ।
निर्माण पक्षले आइतबार ओएसआर डिजिटलको युट्युबमार्फत टिजर दर्शकमाझ ल्याएको हो।
१ मिनेट १२ सेकेन्ड अवधिको टिजरले मुख्य पात्रहरू र कथावस्तुबारे संक्षिप्तमा जानकारी दिएको छ।
टिजरमा फिल्मको रहस्यमयी कथा र पात्रहरूको परिस्थिति देख्न सकिन्छ। एउटा अप्रत्याशित घटना वा अपराधपछि उत्पन्न परिस्थिति र त्यसले पात्रहरूको जीवनमा पारेको प्रभावलाई देखाइएको छ। आमाछोरीबीचको भावनात्मक सम्बन्ध र छोरीलाई सुरक्षा दिन आमाले गर्ने संघर्ष टिजरको केन्द्रमा देखिन्छ।
फिल्ममा प्रियंका कार्की र सिम्रन खड्का आमा-छोरीको भूमिकामा छन्। यी दुईका साथमा फिल्ममा आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय छ।
राजेन्द्र मोक्तानको कलर रहेको टिजरको ध्वनि मिश्रण मुकेश शाहले गरेका छन्।
आयंका फिल्मस्को प्रस्तुति रहेको 'मास्टर्नी'लाई भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन्। फिल्मको कथा प्रियंका कार्की स्वयंले लेखेकी हुन् भने पटकथा तथा संवाद शान बस्न्यातले तयार पारेका हुन्।
फिल्मको निर्मातामा आयुष्मान जोशी, प्रियंका कार्की जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की छन्। त्यस्तै, सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता हुन्।
भारतीय प्राविधिक टिमले काम गरेको फिल्मको पोस्ट प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भइरहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा युवराज इन्दोरियाको छायांकन तथा राजा सिंह सिदुको सम्पादन छ।
'मास्टर्नी' भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।