बाल कलाकार अशोक दर्जीमाथि एक युवाले कुटपिट गरिरहेको देखिने भिडिओ यति बेला सामाजिक सञ्जालमा भाइरल छ।
आइतबार साँझदेखि फैलिएको उक्त भिडिओमा एक युवाले 'अर्काको पैसा लान्छस् भाइ' भन्दै अशोकलाई कुटपिट गरिरहेको देखिन्छ। अशोक भने मौन देखिन्छन्।
भिडिओ सार्वजनिक भएपछि यो घटना अहिलेको हो कि पुरानो भन्नेबारे सामाजिक सञ्जालमा चासो र जिज्ञासा देखिएको छ। खासगरी उनका शुभचिन्तकले घटनाको वास्तविकता सार्वजनिक गर्न आग्रह गरेका छन्।
हामीले यसबारे अशोक दर्जीसँग कुरा गर्दा उनले भिडिओ करिब दुई महिनाअघिको भएको र उक्त घटनालाई लिएर प्रहरीमा उजुरी दिइसकेको बताए।
दुई जना व्यक्ति आएर आफूलाई चोर दोष लगाउँदै कुटपिट गरेको र भिडिओ बनाएको उनले जानकारी दिए।
भिडिओमा पैसा लेनदेनको विषयमा कुटपिट भएको देखिए पनि वास्तविक कुरा अर्कै भएको अशोक बताउँछन्।
'वास्तविक कुरा अर्कैछ। म आफै यो घटनाबारे भिडिओ सार्वजनिक गर्दैछु,' उनले भने, 'प्रहरीले घटना छानबिन सिलसिलामा मलाई बोलाइरहेको छ, म छिट्टै जान्छु।'
अशोकले प्रहरीमा दिएको उजुरीमा आफ्नो भविष्यमाथि खेलबाड गर्ने काम भएको भन्दै ती दुई जनालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
कुटपिटको भिडिओ सामाजिक सञ्जालमा राखेर आफ्नो भविष्यमाथि खेलबाड गर्ने काम गरिएको पनि उनले बताएका छन्।
अशोकले आफूलाई कुटपिट गर्नेविरूद्ध कारबाही माग गर्दै गत महिना इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा निवेदन दिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी रञ्जन अवाले अशोकले यो घटनासम्बन्धी निवेदन दिएको पुष्टि गरे।
सेतोपाटीसँग कुरा गर्दै उनले असार २२ गते अशोकले निवेदन दिएको बताए।
'उहाँले निवेदन दिनुभएको थियो। घटना भएको करिब एक महिनापछि उजुरी परेको देखिन्छ। त्यस हिसाबले घटना जेठतिर भएको हुनुपर्छ,' उनले भने।
डिएसपी अवाका अनुसार अशोकले निवेदन दिएपछि काठमाडौंमा कन्सर्टका लागि गएको र फर्किएपछि थप छलफल गर्ने बताएका थिए।
'उहाँले काठमाडौंमा कार्यक्रम रहेको र फर्किएपछि यस विषयमा छलफल गरौं भन्नुभएको थियो,' उनले भने, 'तर त्यसपछि थप कुराकानी हुन सकेको छैन।'
घटना झापाको बिर्तामोड नगरपालिका अनारमनीस्थित देवी बस्ती क्षेत्रमा भएको प्रहरीले जनाएको छ। दुई जनाबीच आर्थिक लेनदेनको विवाद रहेको प्रहरीको भनाइ छ।
'दुई जनाबीच लेनदेनको विषय देखिन्छ। वास्तविकता बुझ्न थप अनुसन्धान गर्नुपर्ने हुन्छ,' डिएसपी अवाले भने, 'दुर्व्यवहार गर्ने व्यक्तिले नै भिडिओ खिचेर सार्वजनिक गरेको भन्ने जानकारी पनि आएको छ।'
सानै उमेरमा भाइरल अशोक 'मन बिनाको धन' गीतमार्फत चर्चामा आएका थिए। उनी लामो समय काठमाडौंमा गायक तथा संगीतकार टंक बुढाथोकीसँग बसेका थिए। गत वर्षदेखि भने झापामा आफ्नै परिवारसँग बस्दै आएका छन्।
उनले गत वर्ष फिल्ममा डेब्यू गरेका थिए। फिल्म 'धन बिनाको मन' मा उनले शीर्ष भूमिकामा अभिनय गरेका थिए। उनी अभिनेता तथा निर्माता नीता ढुंगानाको आगामी फिल्म 'पार्वती' मा पनि शीर्ष भूमिकामा देखिँदै छन्। यो फिल्मको टिजर मंगलबार सार्वजनिक हुने तयारी छ।
अशोक दर्जीले प्रहरीमा दिएको उजुरीको प्रति ढुंगानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
अशोक यतिबेला 'पार्वती' फिल्मका लागि काठमाडौंमा छन्।
