'फेस अफ नेपाल २०२६'मा सुमन श्रेष्ठ, जियोन तामाङ, आइस्ता जोशी र अनिशा श्रेष्ठ विजेता बनेका छन्। आइतबार सम्पन्न ग्रान्ड फिनालेमा उनीहरू चारै जना विजेता घोषित भएका हुन्।
सुमन महिला र जियोन पुरुषतर्फ विजेता बनेका हुन् भने आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित हुन्। अब चारै जनाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने 'एसिया मोडल फेस्टिभल'मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
एमएस प्रोडक्सनले आयोजना गरेको प्रतियोगिताको ग्रान्ड फिनालेमा ८ महिला र ११ पुरूष गरी १९ जना प्रतियोगी सहभागी थिए।
बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण प्रतियोगिताको ग्रान्ड फिनाले एक साता पछि सारिएको थियो। प्रायोजक तथा कार्यक्रमस्थलको पूर्वनिर्धारण भइसकेकाले थप समय सार्न सम्भव नभएपछि कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय निर्देशक मेनुका माझीले बताइन्।
उनका अनुसार विपत्तिका बीच पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नु चुनौतीपूर्ण थियो। आयोजक टिमले बाढीपीडितका लागि राहतसमेत वितरण गरेको उनले बताइन्।
फिनालेको निर्णायकमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, ‘फेस अफ नेपाल २०२१’ तथा अभिनेत्री नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, ‘फेस अफ नेपाल २०२४’का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक तथा फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका थिए।