अभिनेता विराज भट्ट र समीर भट्टको ब्लकबस्टर फिल्म '१२ गाउँ' अब युट्युबमा रिलिज हुने भएको छ।
हलमा प्रदर्शन भएको झन्डै २ वर्षपछि फिल्म युट्युबमा सार्वजनिक हुन लागेको हो।
बुढासुब्बा डिजिटल प्रा.लि.ले सामाजिक सञ्जालमार्फत '१२ गाउँ' यही शुक्रबार (भदौ २६ गते) युट्युबमा रिलिज हुने घोषणा गरेको छ।
यो विराजका छोरा समीरको डेब्यु फिल्म हो। फिल्मले हल प्रदर्शनमा ठूलो चर्चा कमाउनुका साथै व्यावसायिक रूपा पनि ठूलो कमाइ गरेको थियो।
घरेलु बक्स अफिसमा फिल्मले झन्डै २० करोड रूपैयाँ ग्रस कमाइ गरेको थियो।
विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’मा विराज र समीरसँगै सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सानिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, कृष्ण भट्ट, कालु राना, अर्जुनजंग शाहीलगायत कलाकारहरूको अभिनय छ।
'१२ गाउँ'को सिक्वेल '१२ गाउँ २' यही दसैंमा हलमा प्रदर्शनमा आउँदैछ। सिक्वेल आउनुअघि पहिलो भाग युट्युबमा सार्वजनिक हुन लागेको हो।