फिल्म 'अन्तिम दाउ' निर्माणको औपचारिक घोषणा गरिएको छ। फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने फिल्मलाई बिजु पार्कीले निर्देशन गर्नेछन्। यो उनको डेब्यू निर्देशन हुनेछ।
निर्माण पक्षले फिल्मको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुइटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेको हो। सार्वजनिक पोस्टरले फिल्म एक्सन-थ्रिलर जनरामा आधारित रहेको संकेत गर्छ।
पोस्टरमा कलाकारहरूलाई चोट र रगतसहितको लुक्समा प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा जंगल र पहाडी भूगोल देखाइएको छ।
फिल्ममा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ।
सार्वजनिक दोस्रो पोस्टरमा '२०२७' उल्लेख गरिएको छ। यसको अर्थ फिल्म सन् २०२७ मा प्रदर्शन हुने संकेत मिल्छ।
फिल्मका सह-निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा छन् भने कार्यकारी निर्मातामा रमेश शाही ठकुरी र शिशिर पार्की रहेका छन्। प्रोजेक्ट एडभाइजरमा गजित विष्ट र सरिता गिरी छन्।
रामप्रसाद चौधरीको सम्पादन तथा संगम राईको छायांकन रहने फिल्ममा राजु डोङको एक्सन, सज्जल लोप्चनको भीएफएक्स र ज्योति केसीको मेकअप तथा कस्ट्युम डिजाइन रहनेछ। फिल्मको वितरण श्रीराम बालाजी फिल्म्सले गर्नेछ।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन छिट्टै सुरू हुनेछ।