प्रदर्शनरत फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग' १९ औं एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयनमा परेको छ।
एसिया प्यासिफिक स्क्रिन एकेडेमीले सार्वजनिक गरेको मनोनयन सूचीमा ३२ देश तथा क्षेत्रका ३६ फिल्म समेटिएका छन्। जसमा 'एलिफेन्ट्स इन द फग' उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनयनमा परेको हो।
यस वर्षको अवार्डमा मनोनीत फिल्मका ६९ प्रतिशत निर्देशकले आफ्नो पहिलो वा दोस्रो फिचर फिल्म प्रस्तुत गरेका छन्। उत्कृष्ट फिल्म विधामा मनोनयनमा परेका पाँचवटै फिल्म पहिलोपटक फिचर निर्देशन गरेका निर्देशकका हुन्। उत्कृष्ट एनिमेटेड फिल्म विधामा मनोनयनमा परेका फिल्मका निर्देशक पनि पहिलो वा दोस्रो फिचर निर्देशन गर्ने फिल्ममेकर छन्।
अवार्ड समारोह आगामी अक्टोबर ३० मा अस्ट्रेलियामा आयोजना हुँदैछ।
अविनाश विक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग’ गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भइरहेको छ।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथालाई फिल्मको केन्द्रमा राखिएको छ। फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, गौरी मल्ल, माओत्से गुरुङ, महिमा नवबाग, आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय छ।
निर्देशक शाहकै पटकथा रहेको फिल्मको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन्। नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म निर्माण गरिएको हो।
नेपालतर्फका निर्माता अनुप पौडेल हुन्।