फ्राइडे रिलिजको अवसर पारेर शुक्रबारदेखि नेपालका सिनेमा हलमा दुई नेपालीसहित चार फिल्मले प्रदर्शन थालेका छन्।
नेपालीतर्फ 'बेहुली' र 'पेन्सन पट्टा' तथा विदेशी फिल्मतर्फ बलिउडको 'हनुमान अंश' र हलिउडको 'फल २: डेडपोइन्ट' प्रदर्शनमा आएका हुन्।
'बेहुली' सशान कँडेल निर्देशित प्रेम तथा पारिवारिक ड्रामा फिल्म हो। प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गर्ने फिल्ममा पारस बम ठकुरी 'कुल ब्वाइ' र दिव्या रायमाझी मुख्य भूमिकामा छन्। साथमा पदम तामाङ, सुशान्त कार्कीलगायत कलाकारहरूको समेत शीर्ष अभिनय छ।
अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ। यसको रनटाइम १६५ मिनेट छ।
त्यस्तै, 'पेन्सन पट्टा' माओत्से गुरूङको निर्देशनमा बनेको ड्रामा जनराको फिल्म हो।
यो फिल्ममा दयाहाङ राई, गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायत कलाकारहरूको अभिनय छ। यसको कथा ऋणको बोझ, बाबुको मृत्यु, पेन्सन पट्टा र आमा-छोराको संघर्ष वरिपरि घुम्छ। यसले पनि युनिभर्सल सर्टिफिकेट पाएको छ भने रनटाइम १२८ मिनेट छ।
विदेशी फिल्मतर्फ शुक्रबारदेखि बलिउडको 'हनुमान अंश' पनि नेपालमा प्रदर्शनमा आएको छ। भारतमा चर्चा र राम्रो कमाइ गरिरहेको यो आध्यात्मिक यात्रामा आधारित बायोपिक हो।
नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित फिल्ममा शोभिनव सत्या, चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी, विहान शेड्गे, पूर्णिमा तिवारीलगायत कलाकारहरूको अभिनय छ। निर्देशक विशाल चतुर्वेदी हुन्। यसको रनटाइम १५० मिनेट छ।
यस्तै, हलिउडको 'फल २ः डेडपोइन्ट' पनि शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ। एडभेन्चर-थ्रिलर जनरामा बनेको फिल्मलाई माइकल स्पिरिग र पिटर स्पिरिगले निर्देशन गरेका हुन्।
फिल्ममा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय छ। यसको रनटाइम ९८ मिनेट छ।
यसअघि यो शुक्रबार नेपाली फिल्म 'अक्षरा' पनि रिलिज हुने तयारीमा थियो। अन्तिम समयमा यसको प्रदर्शन मिति परिवर्तन गरिएको थियो। त्यस्तै, शुक्रबार रिलिज हुने भनिएको बलिउडको 'हैवान' भने नेपाली हलमा देखिँदैन।